• २०८३ जेष्ठ ३१ गते आइतवार

कैलाली जिल्ला स्कुल क्रिकेट च्याम्पियनसिपको उपाधि विद्याभूषण पब्लिक स्कुललाई

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३१, कैलाली । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न कैलाली जिल्ला स्कुल क्रिकेट च्याम्पियनसिप–२०२६ को उपाधि विद्याभूषण पब्लिक स्कुलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा थ्रीस्टार स्कुललाई ५ विकेटले पराजित गर्दै विद्याभूषणले उपाधिसहित आगामी सुदूरपश्चिम प्रदेशस्तरीय स्कुल क्रिकेट च्याम्पियनसिपका लागि कैलाली जिल्लाको प्रतिनिधित्व गर्ने अवसर समेत सुरक्षित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको थ्रीस्टार स्कुलले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनायो। टोलीका कप्तान रविन्द्रसिंह धामीले ३९ बलमा ५ चौकासहित अविजित ३८ रन बनाए। दीपेन्द्र भट्टराईले १२ तथा खेमराज भाटले १० रनको योगदान दिए।

विद्याभूषणका संसार बोहराले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। कप्तान विवेक दुवाल र दीपक गोयलाले समान २–२ विकेट हात पारे। ११० रनको लक्ष्य पछ्याएको विद्याभूषण पब्लिक स्कुलले १५.५ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाउँदै सहज जित दर्ता गर्यो। नवीन शाहले ३० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए। कप्तान विवेक दुवालले १७ बलमा २५ रनको अविजित इनिङ खेले भने विपिन कार्की १३ रनमा अविजित रहे।

थ्रीस्टारका योगेश जोशीले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उत्कृष्ट बलिङ प्रदर्शन गरेका संसार बोहरा फाइनल खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए।

जेठ १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ३६ विद्यालयको सहभागिता रहेको थियो। समापन समारोहमा कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

प्रतियोगिताका विजेता विद्याभूषण पब्लिक स्कुलले नगद रु. ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता थ्रीस्टार स्कुलले नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र हात पार्यो।

प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ अवार्ड वेस्टर्न क्रिष्टल एकेडेमीका कप्तान सचिन भट्टले जित्दै साइकल प्राप्त गरे। उनले उत्कृष्ट ब्याटरको अवार्ड समेत हात पार्दै क्रिकेट ब्याट प्राप्त गरे।

यस्तै, प्रतियोगिताभर सर्वाधिक विकेट लिने त्रीनगर माविका उज्ज्वल कठायत उत्कृष्ट बलर घोषित हुँदै क्रिकेट जुत्ता प्राप्त गर्न सफल भएको प्रतियोगिता संयोजक तथा कैलाली जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विनोद लामाले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस