• २०८३ जेष्ठ २७ गते बुधवार

नयाँ वर्ष २०८३ का अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ को शुभकामना सन्देश जारी गर्नुभएको छ । नयाँ वर्षले व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।

उहाँले जनताको मनोभावना र असन्तुष्टिलाई सम्बोधन गर्नु एकदमै जरुरि रहेको बताउनुभएको छ । निर्वाचनको परिणामले पनि त्यो कुराको पुष्टि भएको उहाँको तात्पर्य छ । “पुराना स्थापित दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट संकेत गरेको यस पटकको निर्वाचन परिणामले मुलुकमा लोकतन्त्र स्थापनाका लागि दशकौँ लडेका पुराना दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट संकेत गरेको छ । तसर्थ, जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।”

पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु आवश्यक रहेको धारणा राख्नुभएको छ । नेकपा (एमाले) लगायत जनमतमा पछि परेका राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर समीक्षा गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू संयम, अनुशासन र दृढ आत्मविश्वासका साथ अघि बढ्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

नयाँ वर्षले सबैमा एकताको सुत्र कायम राख्न मद्दत गरोस् भन्ने अपेक्षासहित उहाँले जनताको मन जित्ने काम गर्न सबैमा आह्वान गर्नुभएको छ । “यस चुनौतीपूर्ण घडीमा वस्तुनिष्ठ दृष्टिकोण अपनाउँदै अझ बढी समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा हार्दिक आह्वान गर्नुभएको छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस