फागुन ३०, गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रहरीले बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार चालकसहित १४ जना सवार रहेको गाडी दुर्घटनामा पाँच पुरुष र दुई महिलासहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ कन्टारमा शनिबार साँझ करिब ७:५५ बजे ईभी माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।घाइतेहरूलाई उपचारका लागि आबुखैरेनीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाबाट सुरक्षा टोली खटिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस्तै घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पनि खटिएको छ ।
घाइते केहिको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ ।