भदौ २८, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मकवानपुरको मनहरि गाउँपालिका–६ का २६ वर्षीय अजय थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक थिङलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी नायब उपरीक्षक (प्रनाउ) द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो।