• २०८३ बैशाख ३० गते बुधवार

क्यारिकलाई स्थायी प्रशिक्षक बनाउने तयारीमा म्यानचेस्टर युनाइटेड

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ३०, काठमाडौं । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले माइकल क्यारिकलाई स्थायी प्रशिक्षक बनाउने तयारी गरेको छ । क्लबका प्रमुख कार्यकारी अधिकृत उमर बेरााडाले सर जिम र्‍याटक्लिफसँग हुने बैठकमा क्यारिकलाई स्थायी जिम्मेवारी दिन औपचारिक सिफारिस गर्ने तयारी गरेको बेलायतका मिडियाहरुले उल्लेख गरेका छन् ।

अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेपछि टोलीलाई च्याम्पियन्स लिगमा पुनः पुर्‍याउन सफल भएका क्यारिकले क्लबको नयाँ नेतृत्वलाई प्रभावित पारेका छन् । यही प्रदर्शनका आधारमा उनलाई दीर्घकालीन परियोजनाको उपयुक्त व्यक्ति मानिएको हो ।

यसै सन्दर्भमा फुटबल निर्देशक जेसन विलकक्ससँगै बेरााडाले यो सिफारिस यसै हप्ताको कार्यकारी समितिको बैठकमा राख्ने तयारी गरेका छन् । अन्तिम निर्णय भने क्लबको फुटबल मामिलामा मुख्य अधिकार राख्ने र्‍याटक्लिफले गर्नेछन् । ग्लेजर परिवारले भने खेलकुद रणनीति आईएनईओएस समूहलाई नै अघि बढाउन दिएको छ ।

च्याम्पियन्स लिगमा स्थान पक्का भइसकेपछि क्लबभित्र प्रशिक्षकबारे निर्णय टुंग्याउने दबाब बढेको छ । यसअघि आन्दोनी इराओला र उनाइ इमरी जस्ता नाम पनि छलफलमा आएका थिए तर १५ खेलमा ३३ अंक जोड्दै क्यारिक नै बलियो दाबेदार बनेका छन् ।

क्यारिकको नेतृत्वमा टोलीको प्रदर्शनसँगै खेलाडीहरूको मनोबल पनि उच्च देखिएको छ। क्लबभित्र पनि क्यारिकलाई नै निरन्तरता दिने अपेक्षा बढिरहेको छ।

आफूमाथि भइरहेको चर्चाबारे क्यारिकले भने शान्त प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्- ‘यो चर्चा चले पनि नचले पनि मलाई फरक परेको छैन। म काममै केन्द्रित छु ।’

यता क्लबका पूर्व कप्तान वेन रुनीले भने निर्णय ढिला भए ट्रान्सफर बजारमा असर पर्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार नयाँ खेलाडीले पहिले प्रशिक्षक को हो भन्ने स्पष्टता चाहन्छन् ।

क्यारिकको स्थायी नियुक्तिले जनवरीयता बनेको लय कायम रहने विश्वास क्लबले लिएको छ । टोली सातौं स्थानबाट तेस्रो स्थानसम्म उक्लिएको छ र अन्तिम दुई खेल बाँकी रहँदा लिभरपुलभन्दा छ अंक अगाडि छ। यस सफलताले लामो समयपछि ओल्ड ट्राफोर्डमा सकारात्मक वातावरण फर्काएको छ ।

यदि र्‍याटक्लिफले प्रस्ताव स्वीकृत गरे, अन्तिम घरेलु खेलपछि क्यारिकलाई आधिकारिक रूपमा स्थायी प्रशिक्षक घोषणा गर्ने सम्भावना रहेको छ, जसले क्लबमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस