• २०८३ बैशाख ३० गते बुधवार

प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ३०, वीरगन्ज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र संवेदनशील बनाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरीलाई विशेष निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आइजी कार्कीले सेवाग्राहीप्रति जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार गर्न प्रहरीलाई आग्रह गरे ।

उनले समाजका कमजोर वर्गका नागरिकले आफ्ना समस्या लिखित रूपमा प्रस्तुत गर्न नसक्ने अवस्था रहने भएकाले उनीहरूले मौखिक रूपमा राखेका समस्यालाई आधार मानी प्रहरी आफैंले निवेदन तयार गरी समाधान प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) को आर्थिक सहयोगमा निर्माण भएको उक्त सेवा केन्द्रले यस क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आइजी कार्कीले व्यक्त गरे ।

उनले प्रहरी कार्यालयमा मुद्दासँग सम्बन्ध नरहेका व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै पञ्चायत वा मेलमिलापबाट समाधान भएका विषयलाई विचौलियाले पुनः बल्झाउने गरेको बताए । यस्ता गतिविधि रोक्न प्रहरी प्रशासन सतर्क हुनुपर्ने उनको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै आइजी कार्कीले पछिल्लो समय अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गरे । उनले अपराध नियन्त्रणका लागि प्रहरी संगठनलाई पनि प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा राखे ।

‘प्रविधिको प्रयोग गरेर गरिने अपराध नियन्त्रण गर्न त्यसभन्दा उन्नत प्रविधिको आवश्यकता पर्छ,’ उनले भने, ‘समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीलाई प्रविधिसँग जोड्नैपर्छ ।’

वीरगन्ज देशको आर्थिक राजधानी तथा मुख्य प्रवेशद्वार भएकाले यहाँको सुरक्षा, सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको आइजी कार्कीले बताए ।

उनले देशलाई सबैभन्दा बढी राजस्व र रोजगारी दिने क्षेत्रको रूपमा रहेको वीरगन्जमा शान्ति सुरक्षामा खलल पुगे त्यसको असर समग्र देशमै पर्ने उल्लेख गरे । प्रहरी शान्ति सुरक्षा कायम गर्न गम्भीर भए पनि आमनागरिकको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए ।

युएनओपिएसको करिब २ करोड ४३ लाख रुपैयाँको लागतमा जिल्ला प्रहरी कार्यालय पर्सा परिसरभित्र १ हजार ४ सय वर्गफिट क्षेत्रमा निर्माण गरिएको अत्याधुनिक सेवा केन्द्र घरेलु हिंसा तथा सामाजिक अपराध नियन्त्रणदेखि ज्येष्ठ नागरिकका समस्या समाधानसम्म उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस