• २०८३ बैशाख ३१ गते बिहिवार

बंगलादेश प्रधानमन्त्री बन्ने निश्चित भएका तारिक रहमान को हुन् ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १, काठमाडौं । बंगलादेशको आम निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेपछि तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ६० वर्षीय रहमान बंगलादेशको प्रभावशाली जिया परिवारका उत्तराधिकारी हुन् ।

उनका पिता जियाउर रहमान सैनिक शासकबाट राष्ट्रपति बनेका थिए भने उनकी आमा खालिदा जिया देशकी पहिलो महिला प्रधानमन्त्री थिइन् । जियाउर रहमानले सन् १९७८ मा बीएनपी स्थापना गरेका थिए र १९८१ मा सैनिक कूमा उनको हत्या भएको थियो ।

रहमान सन् २००१ मा सक्रिय राजनीतिमा प्रवेश गरेका थिए, जब उनकी आमा दोस्रो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००२ मा उनलाई पार्टीको वरिष्ठ पदमा बढुवा गरिएपछि विपक्षीहरूले यसलाई वंशवादको उदाहरण भन्दै आलोचना गरेका थिए । उनीमाथि भ्रष्टाचार र शक्ति दुरुपयोगका आरोप लाग्दै आएका थिए, यद्यपि उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

सन् २००७ मा सैनिक समर्थित अन्तरिम सरकारले उनलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेको थियो। १८ महिना जेल जीवन बिताएपछि उनी बेलायतको लन्डनमा निर्वासनमा बसे । त्यतिबेला उनले राजनीति छोड्ने प्रतिबद्धता जनाएको खबर सार्वजनिक भएको थियो ।

निर्वासनमै रहे पनि उनले पार्टीको रणनीति र नीतिमा प्रभाव कायम राखे । सन् २०१८ मा उनकी आमा जेल सजाय पाएपछि उनी कार्यवाहक अध्यक्ष बनेका थिए । पूर्वप्रधानमन्त्री सेख हसिनाको शासनकालमा उनीविरुद्ध विभिन्न मुद्दा दायर भए र २००४ को ग्रेनेड आक्रमण प्रकरणमा अनुपस्थितमै सजाय सुनाइएको थियो, तर पछि सबै आरोपबाट मुक्त भए ।

रहमान २५ डिसेम्बर २०२५ मा स्वदेश फर्किए । पाँच दिनपछि उनकी आमाको निधन भयो र ९ जनवरीमा उनी औपचारिक रूपमा बीएनपीका अध्यक्ष बने । विश्लेषकहरूका अनुसार उनको नेतृत्व उदय लगभग अपरिहार्य थियो, यद्यपि वंशवादको आरोप फेरि उठेको छ ।

अब रहमानको अगाडि मुख्य चुनौती पार्टी मात्र होइन, सिंगो देशको नेतृत्व कसरी सम्हाल्छन् भन्ने हुनेछ । राजनीतिक विश्लेषकहरूले उनको विगतको संघर्ष र अनुभवले भविष्यमा कस्तो नेतृत्व शैली देखिन्छ भन्ने कुरा समयले नै तय गर्ने बताएका छन् ।

विहिबार सम्पन्न निर्वाचन बीएनपीले ३०० सिटमा २१३ सिट जितेर दुई तिहाई बहुमत हासिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस