भदौ २७, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने फाइनल खेल शनिबार दिउँसो ४ बजे सुरु हुनेछ ।

शुक्रबार भएको प्लेअफ खेलमा कर्णालीले काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अन्नपूर्ण भने समूह चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो ।
समूह चरणमा भएको भेटमा कर्णालीले अन्नपूर्णलाई ३–१ कै सेटमा पराजित गरेको थियो । त्यसैले आजको फाइनलमा अन्नपूर्णसँग बदला लिने अवसरसमेत रहेको छ ।
केडिया समूहको आयोजनामा सञ्चालन भइरहेको लिगमा ६ टोलीको सहभागिता रहेको छ । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
यो नेपाली भलिबलको इतिहासमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।