जेठ २९,धनगढी । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । परियोजनाको निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यसहित उनले अनुगमन तथा निरिक्षण गरेको फाप्ला क्रिकेट पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् ।

उनको स्थलगत उपस्थितिले फाप्ला परियोजनाको निर्माण प्रक्रियामा थप ऊर्जा, गति र विश्वास बढाएको सरोकारवालाले बताएका छन् । पर्यटन, खेलकुद र समग्र सुदूरपश्चिमको आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने यस ‘गेम चेन्जर’ परियोजनालाई सफलतापूर्वक अगाडि बढाउने प्रतिबद्धता पनि मन्त्री लम्सालले व्यक्त गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा फाप्लालाई ठेक्का प्रक्रियामा लैजानका लागि बजेट विनियोजन गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ फप्लामा करिब दुई लाख ६० हजार ९१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाका प्रारम्भिक तयारी पूरा भइसकेको छ । आयोजनाका लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको छ ।