वैशाख २९, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् ।

पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ ।