• २०८३ भाद्र २५ गते बिहिवार

उद्योग मन्त्री गौरी कुमारी यादवसँग ठूलो परिमाणमा सम्पत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत्र २९, काठमाडौं । उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यादवसँग काठमाडौँ र मधेस क्षेत्रमा ठूलो परिमाणमा जग्गाजमिन रहेको देखिएको छ।

विवरणअनुसार काठमाडौँ महानगरपालिका–९ मा १ रोपनी १ आना २ दाम क्षेत्रफलमा तीनतले घर रहेको छ। त्यस्तै, काठमाडौँ–१० मा १४ आना, ७ आना १ पैसा २ दाम तथा ९ आना १ पैसा ३ दाम जग्गा उनको नाममा रहेको उल्लेख छ।

महोत्तरी जिल्लातर्फ बर्दिबासमा १४ कठ्ठा र १५ कठ्ठा जग्गा तथा अन्य स्थानमा साढे ६ बिघा जग्गा रहेको छ। साथै सम्सीमा १ कठ्ठा जग्गा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ।

नगद तथा जिन्सी सम्पत्तितर्फ यादवसँग १८० तोला सुन, दुई किलो चाँदी तथा हिराका गहना रहेका छन्। बैंक मौज्दाततर्फ सिद्धार्थ बैंकमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा लाखौँ रुपैयाँ जम्मा रहेको छ। साथै विभिन्न कम्पनीहरूमा ३ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरिएको छ।

यसका अतिरिक्त उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएकी छन्, जसबाट मासिक ९० हजार रुपैयाँ भाडा आम्दानी भइरहेको छ।

ऋणतर्फ शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको छ भने कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँ अटो ऋण रहेको विवरणमा उल्लेख गरिएको छ। साथै ५७ लाख रुपैयाँ मूल्यको कार पनि सोही नाममा रहेको छ।

यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस