• २०८३ बैशाख ७ गते सोमवार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरेका थिए ।

प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल-इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरेकी थिइन् । राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरु पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराए । प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराइन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरिन । भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा केही थप महत्त्‍वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस