• २०८३ भाद्र २६ गते शुक्रवार

पोखरामा थप पाँच शव व्यवस्थापन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
भदौ २६, काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र एक बालकको शव पोखरा महानगरपालिका-१६ स्थित वनक्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा ल्याइएका १०२  शवमध्ये यसअघि ७६ शवलाई सोही स्थानमा जमिनमुनि व्यवस्थापन गरिएको थियो । एक्काइस शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएको बताउनुभयो । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरीे व्यवस्थापन गरिएको उहाँको भनाइ छ । अहिलेसम्म पोखरामा २५ जना आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि उहाँहरूका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको हो । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको छ ।
बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस