साउन २६, ललितपुर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक घरसहित पाँच ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २२ गते बिहान करिब ८ बजे हरिसिद्धीकी रिना महर्जनको घरकोठामा चोरी भएको थियो। घटनापछि घटनास्थल आसपासका सीसीटीभी फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ। शरीर खानतलासी गर्दा उनले बोकेको ‘CAT’ लेखिएको कालो झोलाभित्र चोरी गरी ल्याएको सुनचाँदीजस्तो देखिने विभिन्न गरगहना तथा अन्य सामान फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महर्जनको साथबाट सुनजस्तो देखिने धातुका विभिन्न गरगहना, चाँदीजस्तो देखिने गरगहना, हवाईट गोल्ड तथा डायमण्डजस्तो देखिने दुई वटा औँठी, पुराना तथा नयाँ सिक्का र नगद रु. ११ हजार ३९० बरामद भएको छ।
त्यस्तै, Bessie लेखिएको खैरो लेडिज ब्याग र Baggit लेखिएको कालो लेडिज ब्याग समेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरगहनामा नौगेडी, हार, झुमका, औँठी, सिक्री, तिलहरी, चुरा तथा बाला लगायतका सामान रहेका छन्। चाँदीजस्तो देखिने गरगहनामा औँठी, चाबी झुण्ड्याउने रिङ, हार, हनुमानको लकेटसहितको सिक्री, ब्रासलेट र पाउजु रहेका छन्।
पक्राउ परेका महर्जनविरुद्ध चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।