• २०८३ साउन २६ गते मङ्गलवार

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफामा उछाल, ईपीएस ९.३३ रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २६, काठमाडौँ ।   सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३९०.१५ प्रतिशतले वृद्धि भई २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

नाफा वृद्धिको प्रमुख कारण कम्पनीको वित्तीय खर्चमा आएको उल्लेख्य गिरावट देखिएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५७ करोड ५१ लाख रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ । अर्थात् कम्पनीले एक वर्षमै करिब १७ करोड रुपैयाँ वित्तीय खर्च बचत गर्न सफल भएको छ ।

विद्युत् बिक्रीबाट प्राप्त आम्दानी पनि सामान्य रूपमा बढेको छ । कम्पनीको विद्युत् बिक्री आम्दानी ३.६९ प्रतिशतले वृद्धि भई १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । साथै अन्य आम्दानीतर्फ १ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले सञ्चालन खर्च नियन्त्रणमा समेत प्रगति देखाएको छ । अघिल्लो आवमा २ करोड ५१ लाख रुपैयाँ रहेको अन्य सञ्चालन खर्च घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । नाफा बढेसँगै कम्पनीको सञ्चित नाफा (रिजर्भ) पनि बलियो बनेको छ । अघिल्लो वर्ष ९ करोड १२ लाख रुपैयाँ रहेको रिजर्भ बढेर ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

२ अर्ब ८५ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.७२ रुपैयाँबाट बढेर ९.३३ रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ पुगेको छ ।

वित्तीय खर्च घट्दै जाँदा र विद्युत् बिक्री आम्दानी स्थिर रूपमा बढिरहँदा कम्पनीको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत देखिएको छ । विशेषगरी ऋणको लागत घटेको प्रभाव प्रत्यक्ष रूपमा नाफा र प्रतिशेयर आम्दानीमा देखिएको विश्लेषण गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस