फागुन २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना अर्थात् माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार सो अवधिमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले मात्र बढेको थियो।
माघ महिनामा मात्र १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ विप्रेषण आएको थियो।
डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्र थियो ।
यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि बढेर १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या भने २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको राष्ट्र बैंकले जनाएको छ।