पौष २६, काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय एकता दल र मानव महाशक्ति अभियान नेपालबीच चुनावी चिन्ह प्रयोग तथा कार्यगत सहकार्य सम्बन्धी दुई पक्षीय सहमति भएको छ। सहमति अनुसार राष्ट्रिय एकता दलले आफ्नो आधिकारिक चुनाव चिन्ह ‘गोलाकार भित्रको तुलसी मठ’ प्रयोग गरी दलको रूपमा निर्वाचनमा भाग लिनेछ भने मानव महाशक्ति अभियान नेपालले आफ्नो समर्थनमा स्वतन्त्र उम्मेदवार उठाउँदा सोही चिन्ह प्रयोग गर्ने सहमति गरिएको छ। उक्त व्यवस्था २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लागू हुनेछ।

सहमति पत्रमा उल्लेख भएअनुसार दर्शन, विचार र सिद्धान्तका विषयमा दुवै पक्षको आ-आफ्नै स्वतन्त्र पहिचान कायम रहनेछ। तर निर्वाचन प्रक्रियामा आपसी समझदारीका आधारमा तालमेल गर्दै अघि बढ्ने जनाइएको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दुवै पक्षले समानुपातिक मत माग्ने र आपसी समन्वयमा समानुपातिक उम्मेदवार पठाउने निर्णय गरेका छन्।

यो सहमति राष्ट्रिय एकता सुदृढ गर्ने उद्देश्यले गरिएको कार्यगत एकता र सहकार्य भएको दुवै पक्षले बताएका छन्। आगामी दिनमा राष्ट्रहित, सामाजिक सद्भाव र राष्ट्रिय पहिचानका सवालमा संयुक्त पहल गरिने जनाइएको छ। उक्त सहमति पत्रमा राष्ट्रिय एकता दलका अध्यक्ष श्री विनय यादव र मानव महाशक्ति अभियान नेपालका संस्थापक संरक्षक तथा केन्द्रीय अध्यक्ष श्री बिनोद कुमार गुरुङ ले हस्ताक्षर गरेका छन्।