• २०८३ असोज २४ गते शनिवार

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, रौतहट। एमालेले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सांसद पदमा नाजमा खातुनलाई पठाउने निर्णय गरेको छ। एमालेको बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले प्रदेशसभाको समानुपातिकतर्फ रिक्त पदमा नाजमालाई पठाउने निर्णय गरेको हो।

उनी एमालेको समानुपातिक बन्दसूचीमा ४०औँ नम्बरमा रहेकी थिइन्। बैठकको निर्णयबारे एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन्। यसअघि एमालेबाट मधेस प्रदेशसभामा समानुपातिक सांसद रहेकी रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया निवासी जैनब खातुनको निधन भएपछि उक्त पद रिक्त भएको थियो। जैनब रौतहट–३ बाट समानुपातिकतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन्। उनी प्रदेशसभाको अर्थ तथा योजना समितिकी सदस्यसमेत थिइन्।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल पुर्‍याइएकी जैनबको असोज १ गते उपचारकै क्रममा निधन भएको थियो। परिवारका अनुसार उनको रगतमा चिनीको मात्रा अचानक बढेपछि अस्पताल लगिएको थियो।

जैनबको निधनसँगै रिक्त भएको प्रदेशसभा सदस्य पदमा अब नाजमा खातुन आउने भएकी हुन्। एमालेको निर्णयसँगै मधेस प्रदेशसभामा पार्टीको समानुपातिकतर्फको प्रतिनिधित्वमा नाजमाको प्रवेश हुने निश्चित भएको छ। अब सम्बन्धित निर्वाचन प्रक्रिया पूरा भएपछि नाजमाले प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हाल्नेछिन्।

Sharing

प्रतिक्रिया दिनुहोस