असोज २३, रौतहट। रौतहटको गौरमा प्रहरीले ठूलो परिमाणमा नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरामद रकमको स्रोत नखुलेपछि प्रहरीले हुण्डी कारोबारको आशंकामा अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–१ का ४२ वर्षीय शेराज अलि रहेका छन्।

बुधबार राति करिब साढे ८ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अलि पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (BAT) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनको साथबाट नेपाली १ लाख १६ हजार ५ सय रुपैयाँ र भारतीय १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालीतर्फ ५ सय दरका २३३ थान नोट र भारतीयतर्फ ५ सय दरका २०० थान नोट बरामद भएको हो।
नगद रकमसँगै प्रहरीले प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद रकमको स्रोत खुलाउन नसकेपछि अलिमाथि हुण्डी कारोबारसम्बन्धी कसुरको आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।