साउन २४, काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसर भएकाले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले काठमाडौँको टुँडिखेलमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले राज्यका हरेक तहमा समानुपातिक पहुँच सुनिश्चित गर्नुपर्ने बताए । उनले नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र संघीय व्यवस्था स्थापनाका लागि आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको स्मरण गरेका थिए । संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तीकृत तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित गरिसकेको भन्दै अब ती अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए । समावेशिता नारामा मात्र सीमित नभई राज्यका नीति, योजना, स्रोतसाधन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियामा समानुपातिक सहभागिताका रूपमा देखिनुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । प्रकृतिसँग सहअस्तित्वमा आधारित आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र संस्कृति जलवायु परिवर्तन तथा वातावरण संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको उनले बताए । नयाँ पुस्ताले मौलिक भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिको प्रयोगबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए । उपराष्ट्रपति यादवले सबै जातजाति, वर्ग र समुदायको साझा प्रयासबाट मात्र नेपाललाई सुन्दर, शान्त र समृद्ध बनाउन सकिने उल्लेख गरेका थिए ।
२- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा नेतन्याहुले १५ बुँदे दस्तावेज इजरायललाई स्वीकार्य नभएको बताए । उनले हमास वास्तविक रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने र आफ्ना सैनिक तथा नागरिकमाथिका खतरा रोक्न कारबाही जारी राख्ने बताए । गत महिना ट्रम्पको नेतृत्वमा रहेको शान्ति संयन्त्रले गाजामा हमास र अन्य सशस्त्र समूहलाई पूर्ण रूपमा निःशस्त्र बनाउने सहमति भएको जनाएको थियो । त्यसपछि ट्रम्पले यसलाई दीर्घकालीन शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदम भनेका थिए । तर हमासले इजरायलले गाजामा सबै प्रकारका सैन्य कारबाही रोक्नुपर्ने र आफ्ना सेना फिर्ता लैजानुपर्ने सर्तमा मात्रै भारी हतियार हस्तान्तरण गर्न सकिने बताउँदै आएको छ। इजरायलले गत अक्टोबरमा प्रारम्भिक युद्धविराममा सहमति जनाएपछि पनि गाजामा आक्रमण जारी राखेको छ । नेतन्याहुले हमासको निःशस्त्रीकरण केवल कागजी वा देखावटी हुन नहुने बताए । योजनाका विषयमा अमेरिकी अधिकारीसँग छलफल भइरहेको उल्लेख गर्दै उनले केही प्रस्ताव स्वीकार्य भए पनि केही विषयमा इजरायल सहमत हुन नसक्ने बताए । यसैबीच, इजरायलमा आगामी निर्वाचन नजिकिँदै गर्दा नेतन्याहुमाथि आफ्नै दक्षिणपन्थी सहयोगीबाट पनि दबाब बढेको छ । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले ट्रम्पको प्रस्तावलाई अस्वीकार्य भन्दै नयाँ मन्त्रिपरिषद् मतदानमार्फत गाजा योजना अन्त्य गर्न माग गरेका छन् । ट्रम्पले गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको योजनामा शान्ति सम्झौताको कार्यान्वयनको निगरानी गर्न शान्ति परिषद् गठन, हमासको निःशस्त्रीकरण, इजरायली सेना फिर्ता र गाजाको पुनर्निर्माणलगायत विषय समेटिएका थिए। पछिल्लो विवादले ट्रम्पको गाजा शान्ति योजनामा थप चुनौती देखिएको छ।
३- काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शव उनका आफन्तले पहिचान गरेका छन् । साउन २० गते ६८ वर्षीय केदारनाथ पराजुलीले लामो समयदेखि अस्वस्थ रहेकी श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेका थिए । उक्त घटना मन्दिर नजिकैको दृश्य निगरानीमा समेत कैद भएको प्रहरीले जनाएको छ । घटनापछि दुवै जना नदीमा बेपत्ता भएका थिए । केदारनाथको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
४- नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले सैफ जैबलाई टिममा पुनः अनुबन्ध गरेको छ । गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका सैफ जैब टिममा फर्किएका हुन् । उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए । २८ वर्षीय इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ सुदूरपश्चिम रोयल्सको दुवै संस्करणमा फाइनल पुगेर उपविजेता बन्दा महत्वपूर्ण भूमिका खेलेका थिए । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा, सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र टेक रावतलगायतका खेलाडी रहेका छन् । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुने तालिका सार्बजनिक भएको छ ।
५- झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीसहित पाँच जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा सुखि बिवीको दिउँसो १: ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको उपचार भइरहेको छ ।
६- साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले तेस्रो सातामै १९ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको छ । योसँगै ‘गौँथली’ यस वर्ष हालसम्म सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ । चलचित्रका अधिकांश प्रदर्शन दर्शकले भरिएका छन्। नयाँ चलचित्रको तुलनामा ‘गौँथली’प्रति दर्शकको आकर्षण बढ्दै गएको र सकारात्मक चर्चा भइरहेकाले यसको व्यापार २५ करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ । विसं २०५७ मा बनेको ‘गौँथली’ ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । त्यसैको नयाँ रूपका रूपमा २६ वर्षपछि बनेको चलचित्रलाई डा. भोला रिजालको कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् । ‘ह्यारी कि प्यारी’पछि यो उनको दोस्रो निर्देशकीय चलचित्र हो । दर्शकको सकारात्मक प्रतिक्रिया र चलचित्रप्रतिको बढ्दो आकर्षणले ‘गौँथली’ले पुनः ५१औँ दिन मनाउने सम्भावना बढेको निर्देशक कपिल रिजालले बताएका छन् । चलचित्रलाई दर्शकले आफन्त र छिमेकीलाई समेत हेर्न सुझाइरहेको उनको भनाइ छ । चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराललगायत कलाकारको अभिनय छ। घर, परिवार, सम्बन्ध र आत्मीयतालाई केन्द्रमा राखिएको चलचित्रको कथा डा. भोला रिजालको हो ।
७- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बारे सर्वोच्चको पछिल्लो आदेश बारे टिप्पणी गर्दै सर्वोच्च अदालत विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालतप्रति विश्वास गर्नुपर्ने भन्दै हिजो निर्वाचन आयोग र अदालतकै एउटा बेन्चले सहि भनेको कुरा भोली पनि सहि नै हुने दाबि गरेका थिए । सभापति थापाले भने- ‘हामी अदालत गएका होइनौं, चित्त नबुझेर केहि साथीहरु अदालत जानुभयो । एकपल्ट फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यहीँ छ । त्यसमा छलफल होस् भन्ने चाहनुभएकाले हामी शानका साथ अदालत जाने, शानका साथ डिफेन्स गर्ने हो ।’ उनले आफु विधानभन्दा बाहिर नजाने भन्दै कसैले तर्साएर नतर्सिने बताए । उनले महाधिवेशनमा सबैको समान सहभागिता गराउने गरि आफुले पहल गरिरहेको बताउदै पार्टीको महाधिवेशन गर्दै, कानुनी लडाई पनि लड्ने र पार्टीविरुद्ध भएका सबै घेराबन्दीसँग लड्ने बताए ।
८- कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ सिहोखोरस्थित बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि नै बेपत्ता भएका छन् । नदीमा सँगै तीनजना नुहाउन गएका मध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान बाडगंगा नदीमा बेपत्ता भएको वडाध्यक्ष साबुद्दिन मुसलमानले जानकारी दिएका छन् । अर्का बालक अर्बाज पठान भने शनिबार साँझै सकुशल घर फर्केका थिए । बेपत्ता बालकको स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।
९- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने लोकतन्त्रको मूल भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनेछन् । मन्त्रीहरूले पार्टीका नेता–कार्यकर्ता मात्र नभई सर्वसाधारण नागरिकसँग समेत प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइनेछ । नागरिकबाट प्राप्त गुनासा, समस्या, अपेक्षा र सुझावलाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको रास्वपाले जनाएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नागरिक संवाद हुनेछ। साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा समय आम नागरिकका लागि खुला रहनेछ। उक्त समयमा सम्बन्धित मन्त्रीले नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्नेछन् । रास्वपाले नागरिक संवादलाई नेतृत्व र जनताबीचको प्रत्यक्ष सम्बन्ध कायम गर्ने माध्यमका रूपमा लिएको छ । स्थानीय तहदेखि राज्यका विभिन्न निकायसम्म नागरिकले भोगिरहेका समस्या तथा सेवासम्बन्धी गुनासालाई सम्बन्धित मन्त्रीसमक्ष प्रत्यक्ष पुर्याउने व्यवस्था यसबाट हुने अपेक्षा गरिएको छ । त्यसपछि साँझ ६ बजेदेखि नेतृत्व संवाद सुरु हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझाव तथा गुनासाका आधारमा दोस्रो चरणमा छलफल गरिनेछ । साथै देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा पनि बैठकमा गहन छलफल हुने रास्वपाले जनाएको छ । रास्वपाले कार्यक्रममार्फत नागरिक, सरकार, संसद् र पार्टी संगठनबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । नागरिकबाट उठेका विषयलाई पार्टीको नीति तथा सरकारको कामसँग जोडेर समाधानका लागि साझा रणनीति निर्माण गरिने बताइएको छ । त्यस्तै, सरकारमा रहेका मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको छ । नागरिकका वास्तविक समस्या र आवश्यकतालाई नजिकबाट बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्न कार्यक्रम उपयोगी हुने रास्वपाको विश्वास छ । सरकारमा रहेका प्रतिनिधि, संसदीय दल, केन्द्रीय समिति र पार्टीको सांगठनिक तहबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने व्यवस्था पनि कार्यक्रममार्फत मिलाइनेछ । रास्वपाले नागरिकका आवाजलाई पार्टी र सरकारसम्म पुर्याउने मात्र नभई प्राप्त सुझावको आधारमा नीति निर्माण र कार्यान्वयनमा सुधार ल्याउने माध्यमका रूपमा ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमलाई अघि बढाउन लागेको जनाएको छ ।
१०- अमेरिकामा एच–१ बी भिसामा काम गरिरहेका विदेशी कामदारको रोजगारी गुमेपछि नयाँ काम खोज्न दिइने ६० दिनको समयसीमा हटाउने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको छ । प्रस्ताव अहिले ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयमा पठाइएको छ । यो व्यवस्था हालसम्म लागू भइसकेको छैन । हालको नियमअनुसार एच–१ बी भिसामा रहेका कामदारले रोजगारी गुमाएपछि बढीमा ६० दिनसम्म अमेरिकामै बसेर नयाँ रोजगारी खोज्न वा आफ्नो भिसा अवस्था कायम राख्न आवश्यक प्रक्रिया अघि बढाउन सक्छन् । नयाँ कम्पनीले भिसाका लागि आवेदन दिएमा केही अवस्थामा आवेदन स्वीकृत हुनुअघि नै नयाँ काम सुरु गर्न सक्ने व्यवस्था पनि छ । ६० दिनभित्र नयाँ रोजगारी नपाएमा कामदारले आफ्नो भिसा अवस्था परिवर्तन गर्न वा अन्य वैधानिक विकल्प खोज्न सक्छ । केही अवस्थामा आश्रित वा भ्रमण भिसाका लागि आवेदन दिन सकिने तथा स्थायी बसोबासका लागि योग्य भए त्यसतर्फ प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ । प्रस्तावित परिवर्तन लागू भए रोजगारी गुमाउने एच–१ बी भिसाधारीका लागि अमेरिकामा बसिरहन कठिन हुन सक्नेछ । उपलब्ध विवरणअनुसार अमेरिकामा एच–१ बी भिसामा कार्यरत लाखौ विदेशी नागरिक यसबाट प्रभावित हुन सक्ने बताइएको छ । यसैबीच, अमेरिकी माथिल्लो सदनमा पछिल्लो सात वर्षदेखि निरन्तर अमेरिकामा बसिरहेका व्यक्तिलाई स्थायी बसोबासको अनुमतिका लागि आवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको विधेयक पनि पेश भएको छ ।
११- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको बताए । राष्ट्रपति पौडेलले आदिवासी जनजातिको विशिष्ट पहिचान, संस्कृति र परम्परा नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गरेका थिए । तराई-मधेशको विकास तथा त्यहाँ बसोबास गर्ने आदिवासी समुदायको न्याय र अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने उनको भनाइ थियो । उनले विगतका द्वन्द्व र असन्तुष्टिलाई लोकतान्त्रिक संवाद तथा संवैधानिक प्रक्रियामार्फत समाधान गर्दै सबै समुदायबीच आपसी सद्भाव र एकता कायम गर्नुपर्ने बताए । राज्यका नीति निर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपमा उपयोग गर्दै आर्थिक सशक्तीकरण गर्नुपर्ने धारणा राख्दै आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने भन्दै उनले खुला संग्रहालयजस्ता अवधारणालाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
१२- कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंह यसअघि मोटरसाइकल भेटिएको स्थान नजिकै आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको बताएको छ । शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको खोजीमा ८० भन्दा बढी सुरक्षाकर्मी र स्थानीयहरुले खोजी अभियान सञ्चालन गरेको थियो ।
१३- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ जना तथा काठमाडौँ उपत्यका र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, सुदूरपश्चिममा ९ जना, गण्डकीमा २ जना र कर्णालीमा ४ जना घाइते भएका छन् ।
१४- देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष सोही अवधिको तुलनामा रोपाइँको दर ४.७५ प्रतिशतले बढेको हो । देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये साउन २२ गतेसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा रोपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको छ। उक्त प्रदेशमा धान खेती हुने १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भएको छ । यो कुल क्षेत्रफलको शतप्रतिशत हो । गत वर्ष साउन २५ गतेसम्म सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको थियो । बागमती प्रदेशमा ९७.८२ प्रतिशत र लुम्बिनी प्रदेशमा ९७.३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत र मधेश प्रदेशमा ९४.६५ प्रतिशत रोपाइँ भएको छ। कोशी प्रदेशमा भने ९३.६९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । मुख्य अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशमा यस वर्ष रोपाइँको अवस्था गत वर्षको तुलनामा निकै सुधार भएको छ । गत वर्ष साउन २५ गतेसम्म मधेशमा ७६.५४ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष साउन २२ गतेसम्म ९४.६५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । मधेश प्रदेशमा धान खेती हुने ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ६४ हजार २९१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष समयमै मनसुन सक्रिय भई वर्षा भएकाले धान रोपाइँले गति लिएको मन्त्रालयले जनाएको छ । अधिकांश प्रदेशमा साउनको तेस्रो सातासम्मै रोपाइँ अन्तिम चरणमा पुगेको थियो । गत वर्षको तुलनामा यस वर्ष धान खेती हुने क्षेत्रफल भने केही घटेको छ । गत वर्ष १३ लाख ७८ हजार ९६७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यस वर्ष यस्तो क्षेत्रफल घटेर १३ लाख ७० हजार ६२ हेक्टर कायम भएको छ ।
१५- इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन् । जोलगाद्रले अघि सारेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनुपर्ने, इरानविरुद्धका धम्की रोक्नुपर्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेलगायत विषय छन् । विश्लेषकहरूका अनुसार जोलगाद्रले यसअघि इरानले राख्दै आएका मागलाई नै दोहोर्याएका छन् । तर, पछिल्लो अभिव्यक्तिले होर्मुज जलडमरूमध्यको विषयमा वार्ताका क्रममा इरानले कडा अडान लिएको संकेत गरेको छ । यो अभिव्यक्ति इरान र ओमानबीच होर्मुज जलडमरूमध्यमार्फत पानीजहाज आवतजावतका लागि नयाँ व्यवस्था गर्ने विषयमा भएको पछिल्लो वार्तालाई दुवै पक्षले ‘सकारात्मक र रचनात्मक’ भनेका बेला आएको हो । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । तर, उनले सम्झौता हुँदैमा होर्मुज जलडमरूमध्य तत्काल खुल्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार जलमार्ग पुनः सञ्चालनका लागि अन्य सर्त पनि पूरा गर्नुपर्नेछ । यसअघि समाचार संस्था रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीच होर्मुज जलडमरूमध्यका विषयमा भएको वार्तामा प्रगति भएको जनाएको थियो । अमेरिकाले पनि छिट्टै सम्झौता हुने अपेक्षा गरेको ती अधिकारीले बताएका थिए । ती अमेरिकी अधिकारीका अनुसार होर्मुज जलडमरूमध्यमार्फत व्यावसायिक पानीजहाजलाई बिना अवरोध आवतजावत गर्न दिने सुनिश्चिततासहितको सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने अपेक्षा गरिएको छ । होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । यस क्षेत्रमा उत्पन्न हुने अवरोधले विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले इरानको पछिल्लो अडानलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो ।
१७- खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि सादा पोसाकका प्रहरी परिचालन गरिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ । ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ । उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ । सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने तयारी गरेको छ ।
१८- हलिवुडको सुपरहिरो चलचित्र ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ ले विश्वभर बक्स अफिसमा १ अर्ब २५ करोड डलरभन्दा बढी कमाइ गरेको छ । बक्स अफिस मोजोका अनुसार चलचित्रले हालसम्म विश्वभर १ अर्ब २५ करोड ९३ लाख ८८ हजार ५२८ डलर कमाएको छ । यसमध्ये अमेरिकी बजारबाट ५५ करोड ३० लाख ८८ हजार ५२८ डलर र अमेरिकी बजारबाहिरबाट ७० करोड ६३ लाख डलर कमाइ भएको छ । चलचित्रको कमाइमा अमेरिकी बजारको हिस्सा करिब ४४ प्रतिशत र अमेरिकी बजारबाहिरको हिस्सा करिब ५६ प्रतिशत रहेको बक्स अफिस मोजोको तथ्यांकमा उल्लेख छ । चलचित्रले प्रदर्शनको सुरुवातदेखि नै बक्स अफिसमा बलियो प्रदर्शन गर्दै आएको छ । बक्स अफिस मोजोको तथ्यांकअनुसार यसको पहिलो दिनको कमाइ मात्रै करिब १६ करोड ९८ लाख डलर पुगेको थियो । चलचित्रमा टम हल्यान्डले पिटर पार्कर अर्थात् स्पाइडर–म्यानको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा जेन्डाया, जेकब बाटालोन, जोन बर्नथल र मार्क रफालोलगायत कलाकारको अभिनय छ। चलचित्रको निर्देशन डेस्टिन ड्यानियल क्रेटनले गरेका हुन् । ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ सन् २०२१ मा सार्वजनिक भएको ‘स्पाइडर–म्यान : नो वे होम’ पछिको नयाँ कथा हो । नयाँ चलचित्रमा पिटर पार्कर आफ्नो विगतका घटनापछि एक्लै जीवन बिताउँदै अपराधविरुद्ध लडिरहेको अवस्थामा देखाइएको छ । बक्स अफिस मोजोको पछिल्लो तथ्यांकअनुसार ‘स्पाइडर–म्यान : ब्रान्ड न्यु डे’ सन् २०२६ मा विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको शीर्ष स्थानमा रहेको छ ।
१९- चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गरिरहेको छ । नेपाली चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी साउन २२ गते शुक्रबारदेखि २७ गते बुधबारसम्म चलचित्र विकास बोर्ड, फिल्म बोर्ड चोक, काठमाडौंमा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाली चलचित्रको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने १० चलचित्र निःशुल्क देखाइने बोर्डले जनाएको छ । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका चलचित्रलाई दर्शकमाझ पुनः प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीको पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित ‘आमा’ प्रदर्शन गरिएको थियो भने साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ देखाइएको थियो । साउन २४ गते आइतबार आज बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन हुनेछ । साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइने कार्यक्रम छ । त्यसैगरी, साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन् । प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ देखाइनेछ । एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुने बोर्डले जनाएको छ । पुराना चलचित्रमा चित्रित तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र निर्माणको अभ्यासबारे वर्तमान पुस्तालाई जानकारी गराउन प्रदर्शनी महत्त्वपूर्ण हुने बोर्डको विश्वास छ। कार्यक्रमले नेपाली चलचित्रको इतिहास, संरक्षण, अभिलेखीकरण, अध्ययन तथा अनुसन्धानप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ । सिट सीमित भएकाले इच्छुक दर्शकलाई अग्रिम रूपमा सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ । थप जानकारी तथा सिट आरक्षणका लागि ह्वाट्स एप नम्बर ९८६६६६५७५६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।
२०- अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलिएको र उनलाई अत्यधिक पीडा भइरहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । बिबिसीसँगको अन्तर्वार्ताका क्रममा हन्टरले आफ्ना बुबाको क्यान्सर हड्डीमा फैलिनुका साथै अन्य भागमा समेत फैलिएको बताएका हुन् । उनले बाइडेनको अवस्था निकै पीडादायी र दैनिक जीवनमा गम्भीर असर पार्ने खालको रहेको बताए । आफ्ना बुबाको स्वास्थ्य अवस्थाबारे बोल्ने क्रममा हन्टर भावुकसमेत भएका थिए । उनले बुबाको अवस्था हेर्न निकै कठिन र दुःखद रहेको बताए । यद्यपि, बाइडेन अझै सक्रिय रहेको र अमेरिकाप्रति आफ्नो प्रतिबद्धता कायम राखेको उनले उल्लेख गरे । बाइडेनले सन् २०२५ को मे महिनामा आफूलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए । त्यतिबेला नै क्यान्सर हड्डीमा फैलिसकेको पाइएको थियो । उनले त्यसपछि विकिरण उपचार र हर्मोन उपचार गराएका थिए । गत महिना आफ्नो आगामी संस्मरण सार्वजनिक गर्ने घोषणा गर्दा बाइडेनले उपचार निकै राम्रो ढङ्गले अघि बढिरहेको बताएका थिए । तर, उनका छोराको पछिल्लो भनाइले बाइडेनको स्वास्थ्य अवस्था पुनः गम्भीर बनेको संकेत गरेको छ । बाइडेन राष्ट्रपति हुँदा पनि उनको स्वास्थ्य अवस्थामाथि निरन्तर चासो र निगरानी हुँदै आएको थियो । विशेषगरी सन् २०२४ को जुनमा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पसँग भएको सार्वजनिक बहसमा उनको कमजोर प्रदर्शनपछि उनको स्वास्थ्यबारे व्यापक प्रश्न उठेका थिए । त्यसपछि आफ्नै दलका नेताहरूबाट राष्ट्रपतिको दौडबाट पछि हट्न दबाब बढेपछि बाइडेनले उम्मेदवारी त्यागेका थिए । त्यसपछि तत्कालीन उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् । सन् २०२४ को नोभेम्बरमा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले ह्यारिसलाई पराजित गरेका थिए । बाइडेनले सन् २०२१ देखि २०२५ सम्म अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । सन् २०२० मा राष्ट्रपति निर्वाचित हुँदा उनी अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति निर्वाचित हुने व्यक्ति बनेका थिए । त्यसअघि उनले सन् २००९ देखि २०१७ सम्म बराक ओबामाको उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । क्यान्सरसँग जुधिरहेका भए पनि बाइडेन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनले गत जुनमा शिकागोमा आयोजित बराक ओबामाको राष्ट्रपतीय पुस्तकालयको उद्घाटन कार्यक्रममा समेत सहभागिता जनाएका थिए । बाइडेनको राष्ट्रपतीय कार्यकालसम्बन्धी संस्मरण नोभेम्बर १७ मा सार्वजनिक हुने तयारी छ ।