भदौ २३, कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि तटीय क्षेत्रमा बाढीको जोखिम उच्च बढेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज मंगलबार बेलुकी करिब ८:४० बजेको समयमा किम्रुङ खोलामा ठूलो पहिरो खसेर बहाव रोकिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका हुन्।

खोला फुटेर आउन सक्ने सम्भावित बाढीको खतरालाई ध्यानमा राख्दै नयाँपुल, बिरेठाँटी तथा त्यस आसपासका स्थानीयबासीलाई तत्काल सुरक्षित स्थानतर्फ जान प्रहरीले विशेष अनुरोध गरेको छ। साथै, किम्रुङ खोला पछि गएर मिसिने मोदी खोला आसपासका बासिन्दालाई समेत उच्च सतर्कता अपनाउन र सजग रहन आग्रह गरिएको छ।