भदौ २३, काठमाडौं । जोर्डनमा सम्पन्न एशियन रेफ्री परीक्षामा उत्तीर्ण हुँदै अन्तर्राष्ट्रिय निर्णायक सिर्जना अधिकारी पहिलो नेपाली महिला AKF (Asian Karate Federation) रेफ्री बन्न सफल भएकी छन्। उनको यो ऐतिहासिक उपलब्धिले नेपाली कराते खेलकुदमा नयाँ अध्याय थपिएको छ।

एशियन कराते महासंघअन्तर्गत जोर्डनमा आयोजित रेफ्री परीक्षामा सहभागी अधिकारीले आवश्यक मापदण्ड पूरा गर्दै परीक्षा उत्तीर्ण गरेकी हुन्। यस सफलतासँगै उनी एशियन स्तरमा निर्णायकको भूमिका निर्वाह गर्न योग्य बनेकी छन्।
अधिकारीको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई नेपाली कराते तथा समग्र महिला खेलकुदका लागि समेत महत्वपूर्ण मानिएको छ। अन्तर्राष्ट्रिय स्तरको निर्णायक परीक्षामा सफलता हासिल गर्दै पहिलो नेपाली महिला AKF रेफ्री बन्नु नेपाली महिला निर्णायकका लागि प्रेरणाको विषय बनेको छ।
विगतदेखि नै कराते खेल तथा निर्णायकको क्षेत्रमा सक्रिय अधिकारीले आफ्नो मेहनत, लगनशीलता र निरन्तरको प्रयासबाट यो उपलब्धि हासिल गरेकी हुन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकका रूपमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसँगै उनको जिम्मेवारी र भूमिका पनि थप महत्वपूर्ण बनेको छ।
उनको सफलताप्रति नेपाली कराते क्षेत्र, खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूले खुसी व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका छन्। अधिकारीको उपलब्धिले नेपाली करातेका महिला प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न थप हौसला र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
पहिलो नेपाली महिला AKF रेफ्री बन्न सफल सिर्जना अधिकारीलाई आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय कराते जगतमा थप उचाइमा पुर्याउन हार्दिक बधाई तथा शुभकामना।