• २०८३ जेष्ठ २५ गते सोमवार

मैदानमा फेरी ढले एरिक्सन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं ।  डेनमार्कका चर्चित फुटबल खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै फेरि एकपटक ढलेका छन् । युरो कप २०२१ मा हृदयाघातका कारण मैदानमा ढलेको झण्डै पाँच वर्षपछि उनी पुनः खेलका क्रममा बेहोस भएका हुन् । गएराती युक्रेनविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको ६५औँ मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा लडेका थिए । उनी ढल्नासाथ चिकित्सक टोली मैदानमा पुगेको थियो। उपचारपछि उनी आफैँ हिँडेर एम्बुलेन्ससम्म पुगेका थिए ।

डेनमार्क फुटबल संघले टोलीका चिकित्सक मोर्टेन बोएसेनको भनाइ उद्धृत गर्दै एरिक्सनको अवस्था स्थिर रहेको जनाएको छ । चिकित्सक बोएसेनका अनुसार एरिक्सेन केही समयका लागि बेहोस भए पनि छिट्टै होसमा आएका थिए । उनको शरीरमा जडान गरिएको मुटुको विद्युतीय उपकरणले अपेक्षाअनुसार काम गरेको प्रारम्भिक रूपमा देखिएको छ ।

घटनापछि उनलाई ओडेन्से विश्वविद्यालय अस्पतालमा थप परीक्षणका लागि भर्ना गरिएको छ । चिकित्सकहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

सन् २०२१ जुन १२ मा फिनल्यान्डविरुद्धको युरो कप खेलका क्रममा एरिक्सनलाई मैदानमै हृदयाघात भएको थियो । त्यसबेला चिकित्सकहरूले तत्काल उद्धार गर्दै उनको ज्यान बचाएका थिए । पछि एरिक्सनले आफू करिब पाँच मिनेटसम्म मृत अवस्थाजस्तै रहेको बताएका थिए । त्यस घटनापछि उनको शरीरमा मुटुको धड्कन नियन्त्रण गर्ने विशेष विद्युतीय उपकरण जडान गरिएको थियो । चिकित्सकहरूको अनुमति पाएपछि उनले पुनः व्यावसायिक फुटबल खेल्न थालेका थिए ।

आइतबारको खेलमा प्रसारण गरिएका दृश्यहरूमा एरिक्सनले छाती समातेपछि मैदानमा ढलेको देखिएको थियो । उपचारका क्रममा टोलीका खेलाडीहरूले उनको वरिपरि घेरा बनाएर गोपनीयता कायम गरेका थिए । एरिक्सनलाई मैदानबाहिर लगिएपछि डेनमार्क र युक्रेनका खेलाडीहरूले एकअर्काको हात समातेर ऐक्यबद्धता प्रदर्शन गरेका थिए । घटनापछि खेल तत्काल स्थगित गरिएको थियो र पछि रद्द गरिएको घोषणा गरियो ।

अस्पतालमा रहेका एरिक्सनले आफू ठीक रहेको सन्देश टोलीका खेलाडीहरूलाई पठाएको चिकित्सक बोएसेनले बताएका छन् । उनका अनुसार एरिक्सन निरन्तर चिकित्सकीय निगरानीमा रहेका छन् र थप परीक्षणको नतिजा पर्खिरहेक छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस