वैशाख २५, काठमाडौं । हन्ता भाइरस संक्रमण फैलिएपछि ‘एमभी होन्डियस’ नामक समुद्री क्रुज जहाज अन्तर्राष्ट्रिय स्वास्थ्य निगरानीमा परेको छ । जहाजमा यात्रा गरिरहेका पाँच जनामा संक्रमण पुष्टि भएको छ भने आठ जना शंकास्पद बिरामी फेला परेका छन् । संक्रमितमध्ये एक डच महिलाको मृत्यु भइसकेको छ । एक बेलायती नागरिक दक्षिण अफ्रिकाको अस्पतालमा सघन उपचारमा छन् भने एक स्विस नागरिकको ज्युरिख अस्पतालमा उपचार भइरहेको छ ।

शंकास्पद बिरामीमा एक बेलायती पुरुष, एक डच चालकदल सदस्य र एक जर्मन नागरिक रहेका छन् । उनीहरूमध्ये दुई जना उपचारका लागि नेदरल्यान्ड्स पुगिसकेका छन् भने अर्का एक जनाको अवस्था स्थिर रहेको बताइएको छ । दुई बेलायती यात्रु सम्भावित सम्पर्कपछि घरमै अलग्गै बसिरहेका छन् ।
जहाजमा हाल २३ देशका १४६ जना सवार छन् । जहाज क्यानरी द्वीपसमूहतर्फ जाँदैछ र त्यहाँ पुगेपछि सबैको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । अमेरिका पनि आफ्ना तीन यात्रुमाथि निगरानी गरिरहेको छ, जो केप भर्डे पुग्नुअघि जहाजबाट ओर्लिएर फर्किएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार हन्ता भाइरस कुनै एक रोग नभई भाइरसहरूको समूह हो । यसको २० भन्दा बढी प्रकार छन् । अधिकांश संक्रमण मुसा, गिलहरीजस्ता कुतरिने जनावरको मलमूत्र, र्याल वा सम्पर्कबाट फैलिन्छ ।
‘एन्डिज भाइरस’ नामक प्रकार भने मानिसबाट मानिसमा पनि सर्न सक्ने मानिन्छ, यद्यपि यस्तो घटना दुर्लभ हुने चिकित्सकहरूको भनाइ छ । यो भाइरस मुख्य रूपमा अर्जेन्टिना र चिली मा पाइन्छ । सन् २०१८ मा अर्जेन्टिनामा फैलिएको संक्रमणमा एक व्यक्तिबाट ३४ जनामा भाइरस सरेको र ११ जनाको मृत्यु भएको थियो ।
डब्ल्यूएचओले जहाजमा नजिकको सम्पर्क र सम्भावित रूपमा मुसाजन्य संक्रमणबाट भाइरस फैलिएको हुन सक्ने अनुमान गरेको छ । संक्रमण रोक्न यात्रुहरूलाई आ–आफ्नै केबिनमा सीमित गरिएको छ । स्वास्थ्य विज्ञहरूले संक्रमितलाई अलग राख्ने, हात सफा राख्ने, सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्ने र संक्रमण नियन्त्रणका उपाय अपनाउनुपर्ने बताएका छन् ।
विशेषज्ञहरूका अनुसार हन्ता भाइरसले मुख्य रूपमा दुई गम्भीर रोग निम्त्याउँछ । पहिलो ‘हन्ता भाइरस पल्मोनरी सिन्ड्रोम’ हो, जसमा ज्वरो, थकान, मांसपेशी दुखाइपछि गम्भीर श्वासप्रश्वास समस्या देखिन सक्छ । यसको मृत्युदर २० देखि ४० प्रतिशतसम्म रहने बताइएको छ । दोस्रो ‘हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रोम’ हो, जसले मिर्गौलामा असर पार्न सक्छ ।
यो भाइरसको कुनै विशेष उपचार वा व्यापक रूपमा उपलब्ध खोप छैन । प्रारम्भिक उपचार पाए बिरामी निको हुने सम्भावना भने बढ्ने चिकित्सकहरूको भनाइ छ । अक्सिजन उपचार, भेन्टिलेटर र डायलाइसिससम्म आवश्यक पर्न सक्छ ।
अमेरिकामा सन् १९९३ देखि २०२३ सम्म ८९० वटा हन्ता भाइरस संक्रमण पुष्टि भएका थिए । हालै सन् २०२५ फेब्रुअरीमा अस्कर विजेता अभिनेता जिन ह्याकम्यान की पत्नी बेट्सी अराकावाको पनि हन्ता भाइरससम्बन्धी श्वासप्रश्वास रोगका कारण मृत्यु भएको थियो ।