• २०८३ बैशाख २५ गते शुक्रवार

सर्लाहीमा सुनचाँदीका गरगहना चोरेको आरोपमा बालकसहित पाँच जना पक्राउ

राजेन्द्र विश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५,सर्लाही। सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे राजीव शर्माको घरबाट विभिन्न सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

घटनास्थलको सूक्ष्म अनुसन्धान तथा विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न रहेको आशंकामा तीन बालकको पहिचान भएपछि प्रहरीले उनीहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका बालकहरू १४, १५ र ११ वर्षका रहेका छन् । यसैगरी, घटनामा संलग्न रहेको आरोपमा अन्य ३५ र ४० बर्षिया दुई महिलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीले पक्राउ परेकाहरूको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न सामान बरामद गरेको छ । बरामद सामग्रीमा सुनका औँठी, मंगलसूत्र, तिलहरी, कानका टप, चाँदीका बाला, पाउजु, बिछिया, घडी, लेडिज पर्स, मोबाइल, चेक बुकलगायत रहेका छन् ।

पक्राउ परेका विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा सर्लाही जिल्ला अदालत मलंगवाबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस