पौष २४, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरावलोकनमा मिसिल झिकाउने आदेश दिएको छ । विहिबार न्यायाधीशहरु नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले सर्वोच्च अदालतको पुराना फैसला र मिसिलहरु पेस गर्न आदेश दिएको हो । उपत्यकाको बागमती, विष्णुमतीलगायतका नदी किनारमा २०–२० मिटर खाली छाडेर संरचना निर्माण गर्नुपर्ने भनी २०८० पुस २० मा गरेको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । सरकारले काठमाडौं उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ । काठमाडौं उपत्यकामा १९ वटा खोला रहेको भन्दै सरकारले उक्त फैसला कार्यान्वयनमा जाँदा ती खोलाको दायाँ-बायाँ ८ हजार ३ सय ४ घर टहरा र ४२ हजार नागरिक विस्थापित हुने सरकारको जिकिर छ । सर्वोच्चको फैसला कार्यान्वयन गर्दा ती घर क्षतिपूर्ति दिएर भत्काउनुपर्ने भनेकाले आर्थिक रूपमा सम्भव नहुने सरकारले तर्क गरेको छ ।
२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीहरुलाई पार्टीको निर्वाचन आचार संहिता पालना गर्न निर्देशन दिएको छ । उम्मेदवार छनोट सिफारिस उपसमितिले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार-प्रसार गरेको देखिन आएको भन्दै यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार-प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन दिएको छ । साथै उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ । प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिका बाट प्रचार-प्रसार गर्न सकिने समितिले स्पष्ट गरेको छ । पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता तथा यस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पाल
३- अमेरिकाले रुसी तेल खरिदमा भारत र चीनमाथि आज कडा नीति बनाउने तयारी गरेको छ । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल र युरेनियम खरिद गर्ने देशहरूलाई दण्डित गर्ने द्विदलीय विधेयकलाई अनुमोदन गरेको दाबी गरेका छन् । सिनेटर ग्राहमले राष्ट्रपति ट्रम्पसँगको उनको हालैको भेटपछि विधेयक अनुमोदन भएको बताएका छन् । उनले विधेयक अर्को हप्ताको सुरुमा मतदानको लागि प्रस्तुत गर्न सकिने उल्लेख गरेका छन् । यस प्रस्तावित कानून अन्तर्गत, अमेरिकाले भारत र चीन जस्ता देशहरूमा आयात शुल्क ५०० प्रतिशतसम्म बढाउन सक्छ । भारत र चीन हाल अनुदानित दरमा रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ताहरू मध्ये एक हुन् । अमेरिकाले यी तेल खरिदहरूले रूस-युक्रेन युद्धलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाउदै आएको छ । विधेयक रिपब्लिकन सिनेटर लिन्डसे ग्राहम र डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलद्वारा प्रायोजित छ । ग्राहमका अनुसार, यसले राष्ट्रपति ट्रम्पलाई भारत, चीन र ब्राजिल जस्ता देशहरूमा रूसी तेल खरिद गर्न रोक्न कडा दबाब दिने शक्ति दिनेछ । ग्राहमले यो विधेयकले सस्तो रूसी तेल खरिद गरेर पुटिनको युद्ध मेसिनलाई इन्धन दिने देशहरूलाई दण्डित गर्न मद्दत गर्ने बताएका छन् । यद्यपि, सिनेट र हाउस नेतृत्वले पहिले विधेयकमा मतदान स्थगित गरेको थियो । किनभने राष्ट्रपति ट्रम्पले भारतबाट सिधै आयात गरिएका सामानहरूमा कर लगाउनुलाई बढी प्रभावकारी ठानेका छन् । गत वर्ष ट्रम्पले भारतमा २५ प्रतिशत पारस्परिक कर लगाएका थिए, साथै रूसी तेल खरिद गर्दा थप २५ प्रतिशत जरिवाना लगाएका थिए । यसले केही भारतीय उत्पादनहरूमा कुल कर ५० प्रतिशतमा पुर्याएको थियो, जसले नयाँ दिल्ली र वाशिंगटन बीचको सम्बन्धमा तनाव भएको थियो ।
४- नेपाल र अमेरिकाबीच ‘संयुक्त राज्य अमेरिका-नेपाल सांस्कृतिक सम्पत्ति सम्झौता’ (सीपीए) मा हस्ताक्षर भएको छ । राजदूत डीन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले विहिबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षरलाई ऐतिहासिक कोसेढुङ्गा भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । सीपीएले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न र कानूनको उल्लङ्घन गरी हटाइएका कलाकृतिहरूको फिर्तालाई समर्थन गर्न बलियो रूपरेखा स्थापित गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले बताएको छ । अमेरिकामा अवैध आयातलाई प्रतिबन्धित गरेर र नैतिक सङ्कलन अभ्यासहरूलाई प्रवर्द्धन गरेर सीपीएले सांस्कृतिक सहयोगमा नयाँ अध्यायको सुरुवात गर्ने र अमेरिकाको लागि, सम्झौताले संग्रहालय, विश्वविद्यालय र सांस्कृतिक संस्थाहरूलाई जिम्मेवार र कानुनी आदानप्रदानलाई प्रोत्साहन गर्दै गैरकानूनी पुराना वस्तुहरूलाई अमेरिकी कला बजारबाट बाहिर राख्न मद्दत गर्ने बताइएको छ । नेपालको लागि, यसले आफ्नो सांस्कृतिक विरासतको संरक्षण, पुन: प्राप्ति र उत्सव मनाउन एक महत्त्वपूर्ण उपकरण प्रदान गर्दछ साथै अमेरिका र नेपालले साझा प्रतिबद्धताहरूलाई कार्यमा परिणत गर्दै, सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्
५- नेपाली काँग्रेसमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध संस्थापन पक्ष आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । महामन्त्रीद्वयले विशेष महाधिवेशनलाई अगाडी बढाएपछि त्यसलाई काउन्टर दिन पुस २७ र २८ गते नै कार्यक्रम गर्ने भएको छ । सभापति देउवा निवासमा भएको संस्थापन पक्षका नेताको छलफलमा पुस २७ गते तरुण दलले युवा भेला बोलाउने भएको छ भने पुस २८ गते जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ । महामन्त्रीद्वय थापा र शर्माको सहयोगमा विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन गर्ने घोषणा गरेर महाधिवेशन प्रतिनिधिसहितका नेता कार्यकर्तालाई सहभागिताको लागि आव्हान गरिरहेका छन् । यसैबीच विहिबार बिहान नेता डा. शेखर कोइरालाले सभापति देउवासँग भेटवार्ता गरेका छन् । सो भेटमा कोइरालाले पार्टीलाई विभाजन हुनबाट रोक्न र विशेष महाधिवेशनलाई संकल्प सभाको रुपमा परिणत गर्न सभापति देउवालाई आग्रह गरेका थिए ।
६- नेपाली काँग्रेसको काभ्रे कार्यसमिति विशेष महाधिवेशनको पक्षमा उभिएको छ । काभ्रे काँग्रेसका सभापति तिर्थ लामा, काभ्रे क्षेत्र नम्बर १ सभापति दिनेश लामा र क्षेत्र नम्बर २ सभापति महेश खरेलले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेको छ । विशेष महाधिवेशनको आव्हान भएपछि विभिन्न जिल्ला कार्यसमिति यसको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसअघि ललितपुर, कास्की, धनकुटा, सिन्धुपाल्चोक र उदयपुर जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाएर सक्रिय सहभागिता जनाउने बताएका थिए ।
७- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् । विहिबार शितल निवासमा राष्ट्रपति पौडेलसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।
८-कैलालीको चुरे गाउँपालिका-६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावारी नगरपालिका-२ बस्ने प्रेम किसन सिंह साउदविरुद्ध बयान फेरेको आरोपमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत पूर्ण शंकर यादवले ७ लाख ३१ हजार घुस लिएको आरोपमा विशेष अदालतमा रहेको मुद्धाको विषयमा साक्षीको रुपमा रहेका ठगुन्ना र साउदले अनुसन्धान अधिकृत गरेको बकपत्र प्रतिकुल बयान दिएपछि दुवैविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको जानकारी दिएको छ ।
९- साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी छोडेका छन् । अन्सारीले बिहीबार पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले राजीनामामा केहि साता अघि मधेश प्रदेशमा भाषणको क्रममा प्रचण्डले भनेको भाइरल सायरीलाई उल्लेख गरेका छन् । राजीनामा पत्रमा उनले भनेका छन्- ‘सागर के तूफान को भी हमने बस में किया है पहाड़ों के चट्टान का पथ मोड़ दिया है होगा न कोई हिटलर, कोई नवाब हम सर्वहारा की आवाज : इन्कलाब, इन्कलाब, इन्कलाब’ यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम: तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिन । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु । अन्सारी गत निर्वाचनमा मधेश प्रदेश सभामा पर्सा १ को क बाट तत्कालिन माओवादी केन्द्रबाट विजयी भएका थिए ।
१० -विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ५७ गुणा बढी आवेदन परेको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०: ३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो । जसमा २२ लाख ९९ हजार २५२ जनाले २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता शेयरका लागि आवेदन परेको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९: २५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । अब आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०-१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ ।
११- नेप्से आज सामान्य करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका एक करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सान्भी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ भने एसवाई प्यानलको शेयर ५.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ३.९० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २० करोड ६ लाख बराबरको कारोबार भएको छ भने बन्दीपुर केवलको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
१२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्ने बताएका छन् । ट्रम्पले भेनेजुएलाले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाले अमेरिकामा उत्पादित समान मात्र किन्ने बताएका हुन् । उनले भनेका छन्- ‘मैले जानकारी प्राप्त गरेको छु, भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसा प्रयोग गरेर संयुक्त राज्य अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्नेछ । यी खरिदहरूमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरू सुधार गर्न अमेरिकी कृषि उत्पादनहरू, औषधिहरू, चिकित्सा उपकरणहरू र मेसिनरीहरू समावेश हुनेछन् ।’ ट्रम्पले भेनेजुएला अब अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध रहेको बताउदै यो एक बुद्धिमानी निर्णय भएको र भेनेजुएला र अमेरिका दुवैका जनताका लागि धेरै राम्रो कुरा भएको बताएका छन् । यसअघि, शनिबार, अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती, सिलिया फ्लोरेसलाई राजधानी कराकसबाट पक्राउ गरेको थियो । यसपछि, डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । यसअघि उनी देशको उपराष्ट्रपति थिइन् ।
१३- सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ । परराष्ट्रले भनेको छ- ‘नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ ।’ नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारी मार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिने उल्लेख गरेको छ । अमेरिकाले जनवरी ३ मा भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क पुर्याएको चारदिन पछि नेपाल सरकारको औपचारिक धारणा आएको हो ।
१४- काठमाडौँ महानगर-८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरुलाई मौलिक स्वरुपमा रुपान्तरण गर्न लागिएको छ । यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपियाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपियाँ थियो । यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका घरहरुको सडकतर्फको मोहडालाई रुपान्तरण गरेर मल्लकालीन वा राणाकालीन शैलीको स्वरुप प्रदान गरिनेछ । स्वामित्वका हिसाबले व्यक्ति वा संस्था जसको भए पनि इतिहासको निश्चित समयावधिमा काठमाडौँ उपत्यकाभित्र विकास भएका वास्तु शैलीलाई परम्परागत मानिएको छ । यसमा मल्लकालदेखि राणा कालसम्मका संरचना पर्छन् । वडा ८ का अध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्- ‘मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग महत्वपूर्ण हुन्छन् । घरको गारोमा प्रयोग गरिएका इटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मल्लकालीन घरको डिजाइन हो । आधुनिक बनेको संरचनालाई हामीले यही शैली फिर्ता गर्न लागेका हौँ ।’ यस सडकसँग करिब २५० घर परिवार जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घरको अगाडिको भागको स्वरुप परिवर्तन गर्न लागिएको संगतको भनाइ छ । यी घरहरुसँग यही सडक खण्डभित्र सेतो ढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डवली फल्चा, मूर्ति सहितको गम्ती महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनारसहित धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचनाहरु छन् । वुद्ध चैत्य, ग्वलःदे फल्चा, ग्वलःदे डवली, स्थान गणेश, नास द्यः छेँ, लुक महाद्यः, कुमारी द्यः दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, व्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदूर्गा फल्चा, नवदूर्गा डवली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत स्थानीय जनजीवन, आस्था र श्रद्धासँग जोडिएका मूर्त सम्पदा छन् । मचातिं जात्रा (त्रिशुल जात्रा) निकाल्ने फल्चा, धन्वन्तरी मन्दिर, उमामहेश्वर मन्दिर, श्रीकृष्ण मन्दिर, सूर्यनारायण मन्दिर, इन्द्रेश्वर महादेव, यही परिसरमा परम्परागत इनार, तलेजु भवानी मन्दिर, अष्टमातृका मन्दिर, नित्यनाथ मन्दिर, तुपेक भैरव र गणेश, निर्माणेश्वर महादेव मन्दिर यस क्षेत्रका मानिसहरुको जीवन पद्धतिसँग सम्बन्ध राख्ने सम्पदा हुन् । नवदूर्गा नाच, १२ बर्षे हरिसिद्धि नाच, त्रिशुल जात्रा, बच्छलेश्वरी जात्रा, श्रीकृष्ण जात्रा, गाईजात्रा, खड्गजात्रा, रोपाइँजात्रा, यलाँ पर्व, गुंला पर्व यही ठाउँबाट सञ्चालन हुन्छ । देशोद्वार पूजा, कुमाःमचा (कुमार र कुमारी पूजा), बालाचतुर्दशीमा सतवीज छर्ने कामको प्रारम्भ यहीँबाट हुन्छ । पाशुपत क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु यस स्थानमा ल्याउने चलन छ । यस क्षेत्रमा बसोबार गर्ने संगत र महर्जनहरु बसाइँ सरेर अन्यत्र जहाँ पुगेपछि ब्रतबन्धका लागि स्थान गणेशमा अनिवार्य आउनु पर्ने परम्परा रहेको वडाध्यक्ष संगतले जानकारी दिए ।
१५- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । विहिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन देश भरका काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेता तथा कार्यकर्तालाई आव्हान गर्दै विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका हुन् । महामन्त्री शर्माले पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताउदै काँग्रेसको विधान कार्यान्वयन गर्न र पार्टीलाई नविन आत्मविश्वास भर्न विशेष महाधिवेशन गर्न लागेको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ। अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला । विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको विधानको रक्षा गर्नु हो।’ महामन्त्री शर्माले अगाडी भनेका छन्- ‘यो संवेदनशील घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ। अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नु परेको छ ।’ उनले भदौ २२ अगाडिको नेपाल अहिले नभएको बताउँदै समय, परिस्थिति, हाम्रो चुनौती र दायित्व सबै बदलिएको अवस्थामा नयाँ संकल्प लिनुपर्ने र विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन गर्न लागेको बताएका छन् । दुई महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी तिब्र पारेपछि संस्थापन पक्षले भने नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन अपिल गरेको छ ।
१६- अस्ट्रेलियाले एसेज सिरिज ४-१ ले जितेको छ । सिरिजको को पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले ५ विकेटले जितेर सिरिज ४-१ ले जितेको हो । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको १६० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पुरा गरेको हो । यसअघि इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ३४२ रन बनाएर अलआउट भएपछि अस्ट्रेलियाले १६० रनको लक्ष्य पाएको थियो । अस्ट्रेलियाले पहिलो इनिंगमा ५६७ रन बनाएर अलआउट भएको थियो । यस क्रममा स्टिभ स्मिथले १३८ र ट्राभिस हेडले १६३ रन बनाएका थिए । यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो ।
५ खेलको सिरिज अस्ट्रेलियाले शुरुका तीन टेस्ट लगातार जितेर सिरिज आफ्नो नाममा गरेको थियो भने चौथो टेस्ट इङल्याण्डले जितेको थियो । यो सिरिज सकिएसँगै अस्ट्रेलियाका ब्याट्सम्यान उसमान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले यसअघि नै यो टेस्ट आफ्नो क्यारियरको अन्तिम टेस्ट भएको घोषणा गरेका थिए ।
१७- नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहिदहरुको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति (बोर्ड) को मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । जेनजी शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको थियो । कार्यविधिमा जेन—जी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानून बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ । आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको थियो ।
१८- बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ । साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ५-० गोल अन्तरले पराजित गरेको हो। गएराती सम्पन्न खेलमा बार्सिलोनाका लागि राफिन्हा र फेरान टोरेजले २-२ र रूनी बार्डघजीले एक गोल गरेका थिए । अब बार्सिलोनाले प्रतियोगिताको फाइनलमा आज राति हुने दोस्रो सेमीफाइनल खेल रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जनवरी ११ मा हुने छ ।
१९- राष्ट्रिय सभाको रिक्त हुन लागेका १९ मध्ये १८ सांसदका लागि बुधबार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये कोसी प्रदेशमा ५, मधेसमा ११, बागमतीमा ६, गण्डकीमा ६, लुम्बिनीमा ८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाले उम्मेदवारी दिएका छन् । यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् । तालमेल पछि काँग्रेसले ९, एमालेले ८ र जसपा नेपाल (लोसपा) ले एक सिटमा उम्मेदवारी दिएका छन् । यो तालमेलपछि सबै सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने निश्चित जस्तै रहेको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सांसद राष्ट्रपतिबाट मनोनीत गरी ५९ जना सांसद हुने व्यवस्था संबिधानले गरेको छ । यस निर्वाचनपछि राष्ट्रिय सभाको समीकरण बदलिने भएको छ । हालसम्म राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित १८ सांसदसहित माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल छ । माओवादी केन्द्रसँग एकता गरेको नेकपा एकीकृत समाजवादीसँग हाल ८ सांसद छन् । दुवै दलसहितका वाम घटक मिलेर हाल नेपाली कम्युनिस्ट पार्टी बनेको छ । जससँग राष्ट्रपतिले मनोनित बामदेव गौतमलाई जोड्दा २७ सांसद छन् । दोस्रो रहेको कांग्रेससँग १६ जना सांसद छन् भने एमाले ११ सांसद छन् । यस्तै जसपा नेपालसँग तीन, लोसपासँग एक र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाइ सांसद रिक्त हुन्छन् । यसपटक मनोनीत सांसद वामदेव गौतमसहित १९ जनाको पद रिक्त हुँदैछ । यसपटक एमालेका ८,नेकपा (माओवादी केन्द्रका ७, नेकपा एसका १ र बामदेव) ९ जना, जसपा नेपाल १, लोसपा १ सांसदको कार्यकाल सकिदैछ । तर, कांग्रेसबाट सांसद रहेका १६ जनामध्ये सबैको कार्यकाल बाँकी रहेको छ । नयाँ निर्वाचनपछि काँग्रेसका ९ जना नै विजयी भएमा काँग्रेसका २५ सांसद हुने छन् र राष्ट्रिय सभामा ठुलो दल बन्ने देखिएको छ । त्यस्तै नेकपालाई ९ सिट नोक्सान हुदा १७ सिटमा खुम्चिने छ । अर्कोतर्फ एमालेको ११ सिटबाट आठ सिट घटेर आठै थपिँदा समान अवस्थामा रहने छ । जसपा नेपालले भने एक सिट गुमाउने छ। तर, लोसपा र जसपा मिलेर बन्ने नयाँ दलको राष्ट्रिय सभामा ३ सिट हुनेछ । काँग्रेस र एमाले मिलेर अगाडी बढ्ने संकेत देखिएकाले राष्ट्रिय सभामा दुवैको जोड्दा स्पष्ट बहुमत हुने देखिएपछि राष्ट्रिय सभा दुवै दलको नियन्त्रणमा हुने भएको छ । वामदेव गौतमको ठाउँमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदपूर्ति गर्नेछन् ।
२०- अमेरिकाले भेनेजुएलाका दुई तेल ट्याङ्कर जफत गरेको बताएको छ । एउटा ट्याङ्कर (कथित रूपमा तेल नबोकेको ) उत्तरी एट्लान्टिक सागर (आइसल्याण्ड र बेलायतको बीचमा) मा कब्जा गरिएको थियो । अमेरिकी तटरक्षक दलले भेनेजुएलाको तटबाट रोकेपछि धेरै हप्तादेखि यसको पीछा गरिरहेको थियो । यस समयमा, ट्याङ्करले आफ्नो नाम परिवर्तन गरेर रूसी झण्डा फहराएको थियो । ट्याङ्करलाई उद्धार गर्न पनडुब्बीहरू सहित रूसी समर्थन मार्गमा थियो, तर त्यो प्राप्त हुनु अघि नै ट्याङ्कर कब्जा गरिएको थियो । क्यामरूनको झण्डा मुनि तेल बोकेर यात्रा गरिरहेको दोस्रो ट्याङ्कर क्यारिबियन सागरमा कब्जा गरिएको थियो र हाल अमेरिकी बन्दरगाहमा एस्कर्ट गरिएको छ । रूसले आफ्नो झण्डा मुनि सञ्चालन भइरहेको ट्याङ्कर कब्जाको कडा निन्दा गरेको छ । रूसी यातायात मन्त्रालयले यसले जहाज (मारिनारा) लाई रूसी झण्डा फहराउन अस्थायी अनुमति दिएको बताएको छ । मन्त्रालयले कुनै पनि देशलाई अर्को देशको क्षेत्राधिकारमा विधिवत दर्ता भएका जहाजहरूविरुद्ध बल प्रयोग गर्ने अधिकार नभएको बताएको छ । डिसेम्बर २०२५ मा, अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकारलाई अमेरिकी सर्तहरू पालना गर्न र तेल उद्योगमा अमेरिकी कम्पनीहरूलाई समायोजन गर्न दबाब बढाउन ‘छायाँ फ्लीट’ मा नाकाबन्दी लगाएका थिए । भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धका कारण धेरै ट्याङ्करहरूले प्रत्यक्ष रूपमा तेल ढुवानी गर्न असमर्थ थिए । त्यसैले, भेनेजुएला र यसका ग्राहकहरू (जस्तै चीन) ‘छायाँ फ्लीट’ प्रयोग गरिरहेका थिए । ‘छायाँ फ्लीट’ भन्नाले आफ्नो वास्तविक स्थान र पहिचान लुकाएर तेल ढुवानी गर्ने जहाजहरूलाई जनाउँछ । यी ट्याङ्करहरूले आफ्नो ट्रान्सपोन्डरहरू बन्द गर्छन् वा आफ्नो झण्डा परिवर्तन गर्छन् ताकि अमेरिका वा अन्य देशहरूले ट्र्याक गर्न नसकून् । यसलाई ‘डार्क मोड’ पनि भनिन्छ । बेलायतले अमेरिकालाई रूसी जहाज कब्जा गर्न मद्दत गरेको थियो । बेलायती रक्षा मन्त्रालयले यस अपरेशनमा अमेरिकी सेनालाई समर्थन गरेको र यसका विमानहरू पनि संलग्न रहेको बताएको छ ।