• २०८३ साउन २२ गते शुक्रवार

थाइल्यान्डमा विद्यार्थीले हजुरबुबाआमाको हत्या गरी विद्यालयमा गोली चलाएको खुलासा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २२, काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककनजिकै नवौँ कक्षामा अध्ययनरत एक विद्यार्थीले आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेपछि विद्यालय पुगेर अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच शिक्षक र तीन विद्यार्थी रहेका छन् । घटनामा १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घटना नोनथाबुरी प्रान्तस्थित देब्सिरिन नोनथाबुरी विद्यालयमा भएको हो । अनुसन्धानका क्रममा विद्यालय जानुअघि विद्यार्थीले आफ्नै घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेको खुलेको छ । दुवै जनाको शव घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ । गोली चलाउन प्रयोग गरिएको ९ मिलिमिटरको पेस्तोल विद्यार्थीका हजुरबुबाको रहेको प्रहरीले जनाएको छ । उनका हजुरबुबा पेसाले शिक्षक थिए ।

गोली प्रहारपछि विद्यार्थीसमेत गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि थाइल्यान्डका प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै घाइतेको उपचार तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार गोली चलेको आवाज सुनेपछि विद्यार्थीहरू ज्यान जोगाउन कक्षाकोठाभित्र लुकेका थिए। केही समयपछि प्रहरीले ढोका ढकढक्याएर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।

गोली चलेपछि विद्यालय परिसरमा भागदौड र त्रासको अवस्था सिर्जना भएको थियो। विद्यालयबाहिर रहेका मानिसहरू एकअर्कालाई सम्हाल्दै गरेको देखिएको थियो ।

थाइल्यान्डमा विद्यालय तथा सार्वजनिक स्थानमा गोली चलाइएका घटना यसअघि पनि हुँदै आएका छन् । यस्ता घटनापछि सरकारले हतियारको उपलब्धता तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा निगरानी बढाउने बताउँदै आएको छ। तर, समय–समयमा यस्ता घटना दोहोरिँदा विद्यालय तथा सार्वजनिक स्थानको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस