• २०८३ जेष्ठ २४ गते आइतवार

असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ २४,  काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ हुने भएको छ । आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन हुन लागेको महासंघले जनाएको छ ।

‘नेतृत्वमा नारी ः समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने यस सम्मेलनको उद्देश्य सहकारी क्षेत्रमा संलग्न महिला किसानहरूको योगदान र प्रभावलाई उजागर गर्ने रहेको छ ।

त्यसैगरी, सहकारीहरूमा लैङ्गिक–उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ गर्नु, र सहकारीमार्फत महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमा सहयोग गर्नु समेत रहेको महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले बताए ।

साथै, महिलाहरूलाई नेतृत्व तहमा पुग्न आवश्यक सीप, ज्ञान र अवसर प्रदान गर्दै महिला नेतृत्वलाई सुदृढ बनाउने, विश्वका विभिन्न देशमा सहकारी क्षेत्रमा भएका सफल अभ्यासहरूको आदान–प्रदानमार्फत नवीन सोच र रणनीति विकास गर्ने र महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गर्न उक्त सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।

विभिन्न देशका महिला सहकारीकर्मीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने लक्ष्य समेत सम्मेलनले राखेको छ । यसका अतिरिक्त उद्यमशीलता, रोजगारी र बजार पहुँच अभिवृद्धिमा जोड दिँदै महिलामैत्री सहकारी नीतिको निर्माण तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता बढाउने पनि यस सम्मेलनको उद्देश्य रहेको छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहकारी अभियन्ता, सरकारी निकाय तथा विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरू, विकास साझेदारहरू, महिला उद्यमीहरू, अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको योगदानलाई विशेष प्राथमिकताका साथ उजागर गर्नेछ ।

नेपालमा कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा ओगट्ने कृषि क्षेत्रमा ८ प्रतिशतभन्दा बढी ग्रामीण महिलाहरू प्रत्यक्ष रुपमा संलग्न रहेका छन । देशभर सञ्चालित ३२ हजारभन्दा बढी सहकारीहरूमा महिलाको सक्रिय सहभागिता करिब ५६ प्रतिशत रहेको तथ्यांकले पनि सहकारी र कृषिमा महिलाको मजबुत उपस्थितिलाई दर्शाउँछ ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि तथा उद्यमी महिलाहरूको सहभागिता रहनेछ । कार्यक्रममा नेपाली सहकारी आन्दोलनमा महिलाको अवस्था, महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनाजस्ता विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन हुनेछन् ।

विभिन्न देशका उत्कृष्ट अभ्यास र सफलताका कथाहरू समेत सम्मेलनमा प्रस्तुत गरिनुका साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमणसमेत समावेश गरिएको छ ।

सम्मेलनबाट महिलाको नेतृत्वदायी भूमिका थप सुदृढ हुने, सहकारी क्षेत्रमा लैङ्गिक समावेशिता बढ्ने, अन्तर्राष्ट्रिय सहकार्य र सञ्जाल विस्तार हुने तथा महिला उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा छ ।

सम्मेलनमा सहभागिताका लागि गुगल अनलाइन फारममार्फत रजिष्ट्रेशन हुने व्यवस्था गरिएको र रजिष्ट्रेशन शुल्क प्रति सहभागी पाँच हजार तय गरिएको महासंघले जनाएको छ । सीमित सिट रहकाले सम्मेलनमा सहभागि हुन चाहने महिला सहकारीकर्मीलाई समयमै आफ्नो सीट सुरक्षित गर्न महासंघले आव्हान गरेको छ ।

सम्मेलनमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य सहकार्य रहेको छ । यसका साथै राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनल लगायतका संस्थाहरु सह आयोजकका रूपमा रहनेछन् ।

विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी संघहरू, सहकारी संस्थाहरु र निजी बैंक, वित्तीय संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूले पनि सम्मेलनमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने महाप्रबन्धक डा. थापाले जानकारी गराए ।

सम्मेलनपश्चात् काठमाडौ घोषणा २०२६ जारी गरिने र त्यसले नीतिगत सुधार, महिला नेतृत्वको विकास र उद्यमशीलता प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस