जेठ २४, धादिङ । रास्वपा धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन्। पार्टीको प्रथम जिल्ला अधिवेशनले अर्याललाई जिल्ला सभापति निर्वाचित गरेको हो। उनी हाल रास्वपा बागमती प्रदेश कमिटी सदस्य हुन्।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका थिए।
त्यस्तै, उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी लीला श्रेष्ठले ७७ मत प्राप्त गरे। सचिव पदमा राम भण्डारी १६२ मत सहित निर्वाचित भएका छन्। सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन्।
यस्तै, सहसचिव पदमा श्रीराम आचार्य १६० मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र कँडेलले १२७ मत प्राप्त गरेका छन्। उता सुनसरी जिल्लाको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले १४२ मत प्राप्त गर्दै विजयी हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरेका थिए।
त्यसैगरी, उपसभापति पदमा राजेशमान श्रेष्ठ भारी मतका साथ निर्वाचित भएका छन्। श्रेष्ठले १९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत मात्र प्राप्त गरिन्। अधिवेशनले सचिव र सहसचिव पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। सचिव पदमा राजाराम कुमार मेहता र सहसचिव पदमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका हुन्।
जिल्ला सदस्यहरूमा लक्ष्मी सुवेदी (२०९ मत), राज कुमारी मेहता (१६९ मत), धरमवीर आर्य (११२ मत), रेणुका हरिजन (१०९ मत) र गोकुल थापा (१०७ मत) निर्वाचित भएका छन्।