वैशाख २४, काठमाडौं । अटलान्टिक महासागरमा सञ्चालनमा रहेको एक क्रुज जहाजमा मुसाबाट सर्ने हन्ताभाइरस संक्रमण फैलिएको आशंकापछि तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना बिरामी परेका छन् । विश्व स्वास्थ्य संगठन र दक्षिण अफ्रिका स्वास्थ्य विभागले यस घटनाको पुष्टि गरेपछि हान्ता भाइरस बारे नयाँ चर्चा शुरु भएको छ ।

संक्रमण देखिएको एमभी होन्डियस नामक जहाजलाई हाल प्रायामा रोकिएको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई जहाजबाट ओर्लिन अनुमति दिइएको छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार जहाजमा रहेका ६ जनामा संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । तीमध्ये एक जनामा प्रयोगशाला परीक्षणमार्फत संक्रमण पुष्टि भइसकेको छ । एक बिरामी दक्षिण अफ्रिकाको अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् भने अन्य दुई जनालाई जहाजबाट बाहिर निकाल्ने तयारी भइरहेको बताइएको छ ।
हालसम्म सबै बिरामी वास्तवमै हन्ता भाइरसबाट संक्रमित हुन् वा होइनन् भन्ने स्पष्ट भइसकेको छैन । संक्रमण कहाँबाट र कसरी फैलियो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।
नेदरल्यान्ड्सको झण्डा बोकेको उक्त जहाज मार्च २० मा उशुआइयाबाट यात्रा सुरु गरेको थियो । त्यसपछि जहाज दक्षिणी ध्रुव आसपासका क्षेत्रमा पुगेको र अटलान्टिक महासागर पार गर्दै युरोपतर्फ अघि बढिरहेको थियो । यसको अन्तिम गन्तव्य क्यानरी द्वीप तय गरिएको थियो ।
जहाजमा १७० यात्रु र ७१ चालकदल सदस्य रहेका छन् । जहाजमै रहेका ७० वर्षीय एक पुरुषको पहिलो मृत्यु भएको थियो । उनी आफ्नी श्रीमतीसँग यात्रामा थिए । पछि उनको शव दक्षिण अटलान्टिकस्थित सेन्ट हेलेनामा झारिएको थियो ।
उनकी श्रीमती दक्षिण अफ्रिका पुगेपछि आफ्नो देश नेदरल्यान्ड्स फर्किने तयारीमा थिइन् । तर विमानस्थलमै उनको स्वास्थ्य अचानक बिग्रिएको र बेहोस भएपछि अस्पतालमा मृत्यु भएको बताइएको छ । क्रुज सञ्चालन गर्ने ओशनवाइड एक्सपेडिसन्सले तेस्रो मृतकको शव अझै जहाजमै रहेको जनाएको छ ।
विशेषज्ञहरूका अनुसार संक्रमणको स्रोत अझै स्पष्ट छैन । जहाज यात्रा सुरु भएको अर्जेन्टिनाको क्षेत्रमा हन्ताभाइरसको कुनै घटना दर्ता नभएको र जहाज भाइरस धेरै फैलिने क्षेत्रमा पनि नगएको बताइएको छ । त्यसैले संक्रमण जहाजभित्रै फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
हन्ताभाइरस मुसा वा गिलहरीजस्ता जनावरको सम्पर्कबाट मानिसमा सर्ने गर्छ । सेन्टर फर डिजिज कन्ट्रोल का अनुसार संक्रमित मुसाको पिसाब, दिसा वा र्यालको सम्पर्कमा आएपछि मानिस संक्रमित हुन्छन् । यसले पल्मोनरी सिन्ड्रोम नामक गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग गराउन सक्छ ।
सन् १९९३ मा पहिलोपटक अमेरिकामा हन्ताभाइरस पहिचान गरिएको थियो । त्यसबेला एक दम्पतीको संक्रमणका कारण मृत्यु भएको थियो । त्यसपछि केही महिनामै ६ सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।
विशेषज्ञहरूका अनुसार हन्ता भाइरस तीन तरिकाबाट फैलिन सक्छ । संक्रमित मुसाले टोकेमा, मुसाको पिसाब वा दिसा लागेको वस्तु छोएर नाक वा मुखमा हात लगाएमा तथा मुसाको र्याल वा दिसा लागेको खाना खाएमा संक्रमण हुन सक्छ ।
वैज्ञानिकहरूका अनुसार यो भाइरस हावाबाट नफैलिने भए पनि मृत्यु जोखिमका हिसाबले कोरोना भाइरसभन्दा बढी खतरनाक मानिन्छ । यसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । बिरामीको लक्षणअनुसार मात्रै उपचार गरिन्छ । गम्भीर बिरामीलाई अक्सिजन वा भेन्टिलेटरको सहारा दिनुपर्ने अवस्था आउन सक्छ ।
यस रोगबाट संक्रमितमध्ये करिब ३८ प्रतिशतको मृत्यु हुने गरेको बताइएको छ । वृद्ध वा कमजोर स्वास्थ्य भएका व्यक्तिमा जोखिम अझ बढी हुन्छ । वैज्ञानिकहरूले हालसम्म हन्ताभाइरसका पाँच प्रकार फेला पारेका छन् । तीमध्ये अराराक्वारा भाइरस सबैभन्दा घातक मानिन्छ, जसको मृत्यु दर ५४ प्रतिशतसम्म रहेको छ । त्यस्तै सिन नोम्ब्रे भाइरसमा ४० प्रतिशत र हन्तान भाइरसमा ५ देखि १० प्रतिशतसम्म मृत्यु दर रहेको बताइएको छ । रोग गम्भीर बनेमा ७ देखि १० दिनभित्र बिरामीको मृत्यु हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।
गत वर्ष अमेरिकी अभिनेता जिन ह्याकम्यानकी पत्नी बेट्सी अराकावाको पनि यही संक्रमणका कारण मृत्यु भएको चर्चा भएको थियो । दुवै जना फेब्रुअरी २६ मा अमेरिकाको सान्टा फे स्थित आफ्नै घरमा मृत भेटिएका थिए । घर वरपर मुसाका चिन्हसमेत फेला परेको थियो । पछि ९५ वर्षीय ह्याकम्यानको मृत्यु मुटुरोगका कारण भएको पुष्टि भएको थियो भने अराकावाको शव बाथरूममा भेटिएको थियो । मृत्यु हुनुअघि उनले फ्लूजस्ता लक्षण, श्वासप्रश्वास समस्या र कोभिडजस्ता रोगबारे इन्टरनेटमा जानकारी खोजिरहेको विवरण सार्वजनिक भएको थियो ।
अमेरिकामा सन् १९९३ देखि २०२३ सम्म हन्ताभाइरसका केवल ८९० वटा घटना मात्रै दर्ता भएका छन् । तीमध्ये धेरैजसो घटना न्यु मेक्सिको मा भेटिएका थिए ।