काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह तथा ६ जना सदस्यहरूले क्यानको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने मागसहित निवेदन दर्ता गराएका छन् । उनीहरूले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दर्ता गराएका हुन् ।

सो निवेदनमा उपाध्यक्ष सिंह तथा केन्द्रीय सदस्यहरू प्रदीप मजगैँया, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल, जयन्ती भट्ट र दुर्गाराज पाठकको हस्ताक्षर रहेको छ । दिवाकर घले र विक्रम बिष्टको नाम निवेदकको सुचीमा रहेपनि उनीहरूले हस्ताक्षर गरेका छैनन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण र दोस्रो संस्करणको हिसाब पारदर्शी नभएको र हिसाबको विवरण समेत उपलब्ध नगराइएको कारण व्यक्तिगत भन्दा पनि संस्थाको सुशासनका लागि यो कदम चाल्नु परेको उपाध्यक्ष सिंहले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।
‘पहिलो संस्करणको हिसाब आठ महिनापछि दिइयो। त्यो पनि एक पानाको मात्र थियो । बारम्बार हिसाबको विस्तृत जानकारीका लागि क्यानमा निवेदन दिंदा समेत पहिलो संस्करणको हिसाब किताबको जानकारी पाउन सकेनौं’ सिंहले भने ।
‘दोस्रो संस्करणमा पनि यही शीलशीला दोहोरीयो। हामीले एनपिएलको हिसाबको डकुमेन्ट माग गर्यौं । डकुमेन्ट नपाएसम्म बोर्ड बैठकमा सहभागी नहुने भनेका थियौं। तर वहाँहरूले बहुमत पुर्याएर आफ्नो ढङ्गले सो हिसाब किताब पास गर्नुभयो। जुन गलत छ। त्यसैले क्यान र संस्थाको हितका लागि अभिभावक संश्था राखेप जानु हार्मो बाध्यता बन्यो’ उनले थपे ।
उनले वेस्ट इन्डिज सिरिज लगायत अन्य जानकारीहरू समेत आफु र अन्य बोर्ड सद्सयलाई थाहा नहुने र जिल्लाका पदाधिकारीहरूलाई समेत जवाफ दिन नसक्ने वातावरण रहेको पनि बताए । सो निवेदनमा सूचनाको हकको उल्लङ्घन गरिएको, लेखा परीक्षण तथा निर्णय प्रक्रियामा अनियमितता रहेको र राखेपको ऐन उल्लङ्घन गरेको विषयहरू पनि उल्लेख गरिएको छ ।
सिंह सहितका सदस्यले सोमबार मन्त्रालय र राखेपमा निवेदन दर्ता गराएका हुन्। पछिल्लो बोर्ड बैठक पनि उनीहरूले बहिष्कार गरेका थिए । सोही बोर्ड बैठकले दोस्रो संस्करणको एनपिएलको आय-व्यय विवरण अनुमोदन तथा सार्वजनिक गरेको थियो ।