• २०८३ भाद्र २१ गते आइतवार

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २१, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन् ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार सम्पर्कविहीन हुनेहरूमा ५१ जना स्थायी कर्मचारी, कम्पनीका सञ्चालक सुनौ औदी तामाङ र उनकी धर्मपत्नी, २ जना दैनिक ज्यालादारी कामदार र ३९ जना ठेकेदारतर्फका जनशक्ति रहेका छन् । बाढीको समयमा आयोजनास्थलमा रहेका केही स्थानीय कर्मचारीहरूले भागेर ज्यान जोगाउन सफल भए पनि अन्य ठूलो संख्याका कर्मचारीहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै बाढीको चपेटामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीले आयोजनाको संरचनामा अकल्पनीय क्षति पु¥याएको छ । बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइन ध्वस्त बनाएको छ । विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस पूर्ण रूपमा लेदोले भरिएकाले भित्र फसेका हुनसक्ने कर्मचारीहरूको अवस्था पहिचान गर्न कठिन भएको कम्पनीले जनाएको छ ।

घटना लगत्तै कम्पनीले हेलिकप्टर र नेपाली सेनाको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरेको थियो । बाढी आएको दिनदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र निजी क्षेत्रका उद्धार टोलीहरू परिचालन गरिएका छन् । उद्धारका लागि फिष्टेल एयरको हेलिकप्टरबाट टोली पठाइए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्यमा बाधा पुगेको छ । कम्पनीले काठमाडौँस्थित कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरी पीडित परिवारलाई जानकारी दिने व्यवस्था मिलाएको छ ।

उद्धारका लागि ‘नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन’ र ‘हिमालय समिट क्लब’ का दक्ष रक क्लाइम्बरहरू समेत परिचालन गरिएको छ । यद्यपि, पावरहाउसभित्र जमेको ठूलो मात्राको लेदो (म्भदचष्क) र ढुङ्गाका कारण उपकरणहरू भित्र लैजान समस्या देखिएको छ । नेपाली सेनाको रेस्क्यु टोलीले भदौ २० गतेसम्म पावरहाउसको केही भागमा रेकी गरे पनि कुनै पनि कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन ।

कम्पनीले ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ । बाढी आएको १० दिन बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारीहरू सम्पर्कविहीन रहेकाले परिवारजनमा चिन्ता र आक्रोश बढ्दै गएको छ । कम्पनीले उपलब्ध सबै स्रोत र साधन प्रयोग गरी अन्तिम सम्भावना भएसम्म खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस