भदौ २१, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित नाम्रुङ खोलामा आएको बाढीले चार घरमा क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३ः३० बजे आएको बाढीले दुईवटा कच्ची घर बगाएको र दुईवटा घर भत्काएको हो।

बाढीले नगु छिरिङ र उर्गीन लामाको कच्ची घर बगाएको छ भने लाक्पाभुटी लामा र दोर्जे झाल्नको एकतले कच्ची घर भत्किएको प्रशासनले जनाएको छ। बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मानिस तथा घोडा आवतजावतका लागि प्रयोग हुँदै आएको फलामे पुलसमेत बगाएको छ। घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी सहायक निरीक्षक यामबहादुर दराईको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट करिब २०० मिटर पश्चिममा पर्छ।
प्रहरीका अनुसार हालसम्म मानवीय क्षति भएको छैन। बिहान ४ः४० बजेसम्म नाम्रुङ खोलाको पानीको बहाव घटेर खोला सामान्य अवस्थामा फर्किएको थियो।
यद्यपि, बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले बुढीगण्डकी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।