कात्तिक १८, काठमाडौं । तारकेश्वर नगरपालिकामा सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यसहित नगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडबीच बस सेवा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो समझदारीसँगै तारकेश्वरका नागरिकले लामो समयदेखि अपेक्षा गर्दै आएको व्यवस्थित, सहज र भरपर्दो सार्वजनिक यातायात सेवाको सुरुवात हुने बाटो खुलेको छ।

समझदारीअनुसार तारकेश्वर नगरपालिकाले साझा बस सञ्चालनका लागि आवश्यक व्यवस्था गर्नेछ। प्रस्तावित योजनाअनुसार सुन्धारादेखि महाराजगञ्ज, नयाँ बसपार्क, मुड्खु, तिनपिप्ले चोक, चिसापानी, सानो बाइपास, धर्मस्थली, जरङ्खु, नेपालटार हुँदै बालाजु बाइपाससम्म बस सेवा सञ्चालन गरिनेछ। बसहरू यही मार्ग हुँदै पुनः फर्किने व्यवस्था मिलाइने जनाइएको छ।
यस रुट सञ्चालनमा आएपछि तारकेश्वरका विभिन्न बस्ती तथा क्षेत्र काठमाडौंका प्रमुख यातायात केन्द्रसँग प्रत्यक्ष रूपमा जोडिनेछन्। विशेषगरी विद्यार्थी, कर्मचारी, व्यवसायी, ज्येष्ठ नागरिक तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई यसबाट लाभ पुग्ने अपेक्षा गरिएको छ। सार्वजनिक बस सेवाले शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
समझदारीपत्रमा तारकेश्वर नगरपालिकाका तर्फबाट नगर प्रमुख कृष्ण हरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र वडा नं. ३ का अध्यक्ष परशुराम अर्यालले हस्ताक्षर गरेका छन्। त्यसैगरी साझा यातायातका तर्फबाट अध्यक्ष सुशील राज प्याकुरेल र प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
साझा बस्को प्रस्तावित बस रुट सुन्धारादेखि महाराजगञ्ज, नयाँ बसपार्क, मुड्खु, तिनपिप्ले चोक, चिसापानी, सानो बाइपास, धर्मस्थली, जरङ्खु, नेपालटार हुँदै बालाजु बाइपाससम्म बस सेवा सञ्चालन हुनेछ। बसहरू सोही रुट हुँदै पुनः परिक्रमा गरि फर्किनेछन्। यस सेवाले तारकेश्वरका विभिन्न क्षेत्रलाई काठमाडौंका प्रमुख आवागमन केन्द्रसँग जोड्दै विद्यार्थी, कर्मचारी, व्यवसायी, ज्येष्ठ नागरिक तथा आम नगरवासीको दैनिक यात्रालाई थप सहज बनाउने विश्वास गरिएको छ।