भदौ १९, धनगढी । सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वको तेस्रो दिन आज धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित मोहना टोलमा विशेष धार्मिक तथा सांस्कृतिक उत्साह देखिएको छ।

तेस्रो दिनको विधिवत् पूजा सम्पन्न गरेपछि धनगढी उपमहानगरपालिका–३ चटकपुर मोहना टोल सरसफाइ समिति संयोजक तथा समाजसेवी महिला नेत्री सुनिता भण्डारी बोहरा गौरा नचाउन सहभागी हुनुभएको छ।
परम्परागत पहिरनमा सजिएर अन्य महिलाहरूसँगै गौरा नचाउँदै उहाँले सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तरता दिनुपर्ने सन्देश दिनुभएको छ। गौरा पर्वका अवसरमा महिलाहरूको सहभागिताले धार्मिक आस्था मात्र नभई आपसी सद्भाव, महिला सहभागिता र स्थानीय सांस्कृतिक पहिचानलाई समेत थप मजबुत बनाउने गरेको छ।
चटकपुर मोहना टोलमा गौरा पर्वका अवसरमा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको छ। पूजा पश्चात् सामूहिक रूपमा गौरा नचाउँदै पर्वको रौनक बढाइएको छ।