साउन १९, काठमाडौं । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

भारतमा रहेकी नेपाली अभिनेत्री विपना थापाले रावतको निधनको जानकारी दिएकी हुन्। हिन्दी, तेलुगु र तमिल चलचित्रका चर्चित अभिनेता रावतले नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’मा पनि अभिनय गरेका थिए। यी दुवै चलचित्रका निर्देशक चन्द्र पन्त हुन्।
रावतले चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’मा अश्वत्थामाको भूमिका निभाएका थिए। साथै ‘सरफरोश’, ‘लगान’ र ‘गजिनी’जस्ता सफल भारतीय चलचित्रहरूमा खलनायकको प्रभावशाली भूमिका निर्वाह गरेर दर्शकमाझ विशेष परिचित बनेका थिए।
उनको निधनसँगै भारतीय चलचित्र उद्योगले एक अनुभवी र बहुआयामिक कलाकार गुमाएको छ।