• २०८३ साउन १९ गते मङ्गलवार

बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९ , बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोही पालिकाको वडा.नम्बर ७ बस्ने माने कठायतकी श्रीमती अन्दाजी ६२ बर्षिया धरु देवी कठायत मृत फेला परेकी हुन् ।

मृतक कठायत साउन १७ गते घरमा कोही कसैलाई जानकारी नगराई निस्केकी थिइन् । त्यसपछि सम्पर्कविहीन भएकी उनी साउन १९ गते दिउँसो करिब २ः३० बजे छेडेदह तालमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार,घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी डोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरिक्षक गगन सिंह भाटको कमाण्डमा ७ जना सदस्यीय प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छेडेदह ताल बाजुराको पर्यटकीय क्षेत्र मध्येको एक हो । यहाँ बर्षातको समयमा घुम्ने पर्यटकको घुइँचो लाग्ने गर्छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड नजिकैको क्षेत्र तथा बझाङ र बाजुरा जिल्लालाई जोड्ने प्रमुख सडकको छेउमै यो ताल अवस्थित छ ।

Sharing

प्रतिक्रिया दिनुहोस