• २०८३ जेष्ठ २१ गते बिहिवार

दिलबहादुरको मार्मिक जीवन कथा !

खिमराज गिरी पढ्न लाग्ने समय : ५ मिनेट

पहाडको एउटा विकट गाउँमा जन्मिएको थियो दिलबहादुर । घरको अवस्था निकै कमजोर थियो । बुबा दिनभर अरूको खेतबारीमा ज्याला मजदुरी गर्थे, आमा घाँस-दाउरा गरेर घर चलाउँथिन् । घरमा दुई दिदीबहिनी थिए—फूलमाया र दिलमाया । उनीहरूका सपना साना थिए, तर परिवारप्रतिको माया ठूलो थियो ।

सानो छँदा दिलबहादुर निकै चञ्चले थियो । गाउँभरि दौडिने, खोलामा पौडी खेल्ने, रूख चढ्ने उसका दैनिकी थिए । पढाइमा भने उसको ध्यान कमै हुन्थ्यो । बुबाआमाको एउटै सपना थियो : “हाम्रो छोरो पढेर ठूलो मानिस बनोस । “

त्यही सपना पूरा गर्न दिदी फूलमाया र बहिनी दिलमायाले आफ्नै पढाइ छोडिदिए । उनीहरू अरूको घरमा काम गर्थे, खेतबारीमा मजदुरी गर्थे र भाइको खर्च जुटाउँथे । वर्षौंको संघर्षपछि बल्लतल्ल दिलबहादुरले एसएलसी (दश कक्षा) पास गर्‍यो ।

गाउँभरि खुसी छायो। ” अब हाम्रो भाइले परिवारको भाग्य बदल्छ,” दिदीबहिनीहरू गर्वले भन्थे।

आईए पढ्न भनेर दिलबहादुर सहर गयो । परिवारले उसलाई आशाको केन्द्र बनाएका थिए । तर सहरमा पुगेपछि उसको संगत बिग्रियो । उसले गलत साथीहरूको साथ पायो । सुरुमा चुरोट, त्यसपछि रक्सी, अनि गाँजा सेवन । पछि लागूपदार्थको यस्तो दलदलमा फस्यो कि सुईमार्फत लागूपदार्थ प्रयोग गर्न थाल्यो ।

अब उसको जीवनको लक्ष्य पढाइ होइन, दैनिक नशाको जोहो बन्न पुग्यो । पैसा सकिन थालेपछि उसले घरमा फोन गर्थ्यो ।
“बुबा, कलेजको शुल्क तिर्नुपर्छ ।” “आमा, किताब किन्नुपर्छ ।”
सोझा बुबाआमाले छोराको कुरा पत्याउँथे । गाई बेचिए, भैंसी बेचिए, बाख्रा बेचिए । आमाले विवाहमा पाएको गहना पनि बेचिन् । दिदीबहिनीहरूले कमाएको पैसा पनि भाइलाई पठाए ।

तर त्यो पैसा पढाइमा होइन, नशामा सकिन्थ्यो । समयसँगै दिलबहादुर झन् हिंस्रक बन्दै गयो । झगडा, मारपिट, चोरी र गुण्डागर्दी उसको दिनचर्या बन्न थाल्यो । रातभर साथीहरूसँग झ्याप भएर सडकमा हिँड्ने, पुलमुनि सुत्ने, गल्लीमा भौंतारिने उसको जीवन बन्यो । कहिलेकाही लागूऔषधि बेचेर पैसा कमाउथ्यो ।

एकदिन उसले बुबालाई फोन गर्‍यो । “ट्युसन फी तिर्न पचास हजार रुपैयाँ चाहिन्छ।” बुबासँग केही थिएन । अन्ततः उनले पुर्खौंदेखिको सानो खेत बेचेर पचास हजार रुपैयाँ छोरालाई पठाए । त्यो पैसा पठाउँदा बुबाको मन रोइरहेको थियो ।

छोराको चिन्ताले उनी दिनदिनै गल्दै गए । गम्भीर रोगले समात्यो । आमा पनि चिन्ताले बिरामी भइन् । तर उता दिलबहादुर भने नशाको दुनियाँमा हराइरहेको थियो । केही महिनापछि बुबाको मृत्यु भयो । छोराले अन्तिम दर्शन गर्न पनि आएन । आमाको मानसिक अवस्था झन् बिग्रँदै गयो । उनी छोराको खोजीमा कहिले गाउँ, कहिले सहर भौंतारिन्थिन्। अन्ततः उनी मानसिक रूपमा विक्षिप्त जस्तै बनिन् । एक रात दिलबहादुर र उसका साथीहरूले अत्यधिक लागूपदार्थ सेवन गरेका थिए। त्यही बेला प्रहरीको टोलीले उनीहरूलाई खेद्न थाल्यो । सबै भागाभाग भए । दिलबहादुर डरले एउटा पुलमुनि लुक्न पुग्यो । त्यहाँ अन्धकारमा एउटी वृद्ध महिला कराइरहेकी थिइन् । “छोरा… मेरो छोरा…” महिलाको कराइ सुनेर उसलाई डर लाग्यो ।

“यिनले कराइरहिन् भने प्रहरीले मलाई भेट्टाउँछ,” उसले सोच्यो।

नशाले विवेक मारेको थियो । उसले वरिपरि रहेको ढुङ्गा उठायो र ती वृद्धामाथि प्रहार गर्न थाल्यो । एक पटक । दुई पटक । फेरि पटक-पटक । केही बेरमै आवाज बन्द भयो । महिला सधैंका लागि मौन भइन् । भोलिपल्ट बिहान उज्यालो भयो । नशा केही कम भयो । उसले मृत महिलाको अनुहार हेर्न खोज्यो । हेर्दाहेर्दै उसका आँखा फैलिन थाले । शरीर काँप्न थाल्यो । त्यो त आफ्नै आमा थिइन् । छोराको खोजीमा भौंतारिएकी, पीडाले पागलजस्तै बनेकी आफ्नै आमा । “आमा…!” दिलबहादुरको चिच्याहटले पुलमुनि प्रतिध्वनि दियो । उसले आमाको शव अँगालेर रोयो । आफ्नै हातले आफ्नी आमाको हत्या गरेको सत्यले उसको आत्मा चुँडिएको थियो । त्यही बेला प्रहरी आइपुग्यो । उसको हातमा हत्कडी लगाइयो । आमा हत्या अभियोगमा अदालतले उसलाई बीस वर्षको जेल सजाय सुनायो ।जेलका दिनहरू अत्यन्त पीडादायी थिए । हरेक रात उसले आमाको अनुहार देख्थ्यो । हरेक बिहान बुबाको सम्झनाले मन पोल्थ्यो । उसले आफूले नष्ट पारेको परिवार सम्झन्थ्यो। एकदिन जेलमा भेटघाटका लागि एउटी महिला आइन् । उनको अनुहार पूरै डढेको थियो । छाला खुम्चिएको थियो । पहिलो नजरमा दिलबहादुरले चिनेन । तर जब ती महिलाले रुँदै भनिन्, “भाइ, म फूलमाया हुँ ।” दिलबहादुरको संसार फेरि एकपटक भत्कियो।

पछि उसले थाहा पायो—गाउँलेहरूले “आमा मार्नेको परिवार” भन्दै अपमान गरेका रहेछन् । विवादका क्रममा कसैले तातो तेल दिदीको टाउकोमा खन्याइदिएको रहेछ । त्यसपछि उनको अनुहार जीवनभरका लागि विकृत भएको थियो । बहिनी दिलमायाको त झन् कुनै अत्तोपत्तो थिएन । कोही भन्थे, उनी घर छोडेर हिँडिन् । कोही भन्थे, विदेश गइन् । तर वास्तविकता कसैलाई थाहा थिएन । त्यो दिनपछि दिलबहादुर झन् धेरै रोयो ।
उसले आफूलाई प्रश्न गर्‍यो—”मेरो कारणले कति जीवन उजाडिए ?” ” आमा मारिइन् ।” “बुबा पीडाले मरे । ” ” दिदीको अनुहार जलेर बिग्रियो ।” “बहिनी हराइन् ।” “मैले अरू कति युवालाई पनि नशाको बाटो देखाएँ होला ?”

बीस वर्ष जेलमा बित्दै जाँदा उसले जीवनलाई नयाँ आँखाले हेर्न सिक्यो । जेलभित्र सञ्चालन हुने सुधार तथा प्रेरणामूलक कार्यक्रमहरूमा सहभागी हुन थाल्यो । पुस्तकहरू पढ्न थाल्यो। धर्म, नैतिकता र मानवताको अर्थ बुझ्न थाल्यो ।

उसको शरीर मोटायो, तर त्योभन्दा धेरै उसको चेतना परिपक्व भयो । अब उसले नशा होइन, जीवनको मूल्य बुझ्न थालेको थियो । सजायको अन्तिम वर्ष चलिरहेको थियो । रिहाइको दिन नजिकिँदै थियो । जेलको झ्यालबाट बाहिरको आकाश हेर्दै उसले सोच्थ्यो— “म बितेका वर्ष फर्काउन सक्दिनँ ।”

” म आमालाई जीवित बनाउन सक्दिनँ ।” “म बुबाको मृत्यु रोक्न सक्दिनँ ।” “म दिदीको अनुहार पुरानै बनाउन सक्दिनँ।” ” तर बाँकी जीवन सही बाटोमा हिँड्न सक्छु।” उसले प्रण गर्‍यो—

जेलबाट निस्किएपछि लागूपदार्थविरुद्ध अभियान चलाउने छ ।

युवाहरूलाई आफ्नो कथा सुनाउनेछ । परिवारको महत्व सम्झाउनेछ । र समाजलाई बिगार्ने होइन, सुधार्ने प्रयास गर्नेछ । किनकि उसले जीवनको सबैभन्दा ठूलो सत्य बुझेको थियो – एक व्यक्तिको गलत निर्णयले केवल उसको जीवन मात्र होइन, सिंगो परिवारको भविष्य पनि जलाउन सक्छ ।

आमाको रगतले रंगिएको त्यो रात उसले कहिल्यै बिर्सन सकेन । तर त्यही पीडाले उसलाई नयाँ मानिस बनाएको थियो ।

उसको आँखामा आज पनि आँसु आउँछ ।तर ती आँसु पछुतावाका मात्र होइनन्, बाँकी जीवनलाई अर्थपूर्ण बनाउने अठोटका आँसु पनि हुन् ।

यही हो दिलबहादुरको मार्मिक जीवन कथा—एक युवाको पतन, परिवारको विनाश र अन्ततः चेतनाको पुनर्जन्मको कथा ।

स्रोत प्रेरणा: प्रहरीद्वारा सञ्चालित मोटिभेसन कार्यक्रमहरूमा प्रस्तुत गरिने लागूपदार्थ दुर्व्यसनविरुद्धका चेतनामूलक सन्देशहरूबाट प्रेरित वास्तविक कथा ।

Sharing

प्रतिक्रिया दिनुहोस