• २०८३ बैशाख २१ गते सोमवार

विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २१, विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘वुमन लिडरसिप समिट २०२६’ सुरु भएको छ । महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो ।

नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त रूपमा आयोजनामा हुन लागेको समिटमा प्रदेशभरबाट तीन सयभन्दा बढी महिलाको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनलाई औपचारिक कार्यक्रमभन्दा माथि उठाएर कोसी प्रदेशको आर्थिक संरचनालाई पुनः परिभाषित गर्ने अवसरका रूपमा लिइएको छ ।

समिटकी संयोजक तथा सिए नआई कोशीकी उपाध्यक्ष गिरिजा सारडाले महिलाको सीप, सिर्जनशीलता र स्थानीय स्रोत–साधनलाई बजारसँग जोड्ने उद्देश्यले कार्यक्रमको संरचना तयार गरिएको बताइन् ।

ग्रामीण र अर्धसहरी क्षेत्रका महिलालाई लक्षित गर्दै कृषि, पशुपालन र साना उद्योगका अवसरलाई व्यावसायिक ढाँचामा रूपान्तरण गर्ने मार्गदर्शन समिटले दिने उनको भनाई छ । महिलालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने तहमा पु¥याउने उद्देश्यले कार्यक्रम केन्द्रित हुने आयोजकको दाबी रहेको छ ।

समिटमा कृषि, उत्पादन, प्रविधि र डिजिटल प्लेटफर्मबिचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकास, वित्तीय पहुँच विस्तार तथा स्थानीय उत्पादनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पु¥याउने रणनीतिमाथि गहन छलफल हुने छ ।

परिसंघ कोसी प्रदेशका अध्यक्ष पवन सारडाले प्रदेशको आर्थिक विकासमा महिला सहभागिता निर्णायक हुने उल्लेख गर्दै निजी क्षेत्रले ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस