वैशाख २१, काठमाडौं । करिब नौ वर्षको लामो प्रतीक्षापछि पेशावर जाल्मीले पाकिस्तान सुपर लिगको उपाधि जितेको छ । फाइनलमा हैदराबाद किंग्सम्यानलाई पाँच विकेटले हराउँदै जाल्मीले दोस्रो पटक ट्रफी आफ्नो नाम गरेको हो । यसअघि टोलीले २०१७ मा पहिलो उपाधि जितेको थियो । फाइनल खेलमा पहिले ब्याटिङ गरेको हैदराबाद किंग्सम्यानको सुरुवात कमजोर रह्यो । लगातार विकेट गुमाउँदा टोली ठूलो साझेदारी बनाउन असफल भयो र १८ ओभरमा १२९ रनमै समेटियो । साइम अयूबले ५४ रन बनाएर एक छेउ सम्हालेका थिए भने कप्तान मार्नस लाबुशेनले २० रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

जाल्मीका आरोन हार्डीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै खेलको दिशा बदले । उनले चार विकेट लिएर विपक्षीलाई सानो स्कोरमा रोक्न महत्वपूर्ण भूमिका खेले । नाहिद राणाले पनि दुई विकेट लिँदै राम्रो साथ दिएका थिए । १३० रनको लक्ष्य पछ्याएको जाल्मीको सुरुवात भने कमजोर रह्यो । पहिलो ओभरमै मोहम्मद हारिस र कप्तान बाबर आजम आउट भएपछि टोली दबाबमा परेको थियो । एक समय चार विकेटमा ४० रनको अवस्थामा पुगेको जाल्मी हारतर्फ उन्मुख देखिएको थियो ।
तर त्यसपछि आरोन हार्डी र अब्दुल समदले उत्कृष्ट साझेदारी गर्दै खेल आफ्नो पक्षमा फर्काए । दुवैले ८५ रनको महत्वपूर्ण साझेदारी गरे । समदले ३४ बलमा ४८ रन बनाएका थिए भने हार्डीले अविजित ५६ रन बनाउँदै टोलीलाई जित दिलाए । जाल्मीले २८ बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
यस जितसँगै टोलीले नौ वर्षपछि उपाधि जित्दै आफ्ना समर्थकलाई खुसी बनाएको छ। कप्तान बाबर आजमका लागि यो जित विशेष बनेको छ, किनकि उनको कप्तानीमा टोलीले पहिलो पटक ठूलो उपाधि जितेको हो ।