चैत २१, लमजुङ । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेत का अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

बेसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी क्षेत्रमा आज साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो। उकालो चढ्दै गरेको जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित १४ जना सवार रहेका थिए। दुर्घटनामा सबै घाइते भएका थिए र उपचारका लागि लैजाँदै गर्दा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र ३४ वर्षीया पुष्पा घले रहेको प्रहरीले जनाएको छ।
Views: 145
Sharing