असोज १७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १८२ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार मधेश प्रदेशमा ३ जना, कोशी र लुम्बिनी प्रदेशमा २–२ जना तथा गण्डकी र काठमाडौं उपत्यकामा १–१ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मानवीय क्षति नभए पनि दुर्घटनामा घाइते भएका छन्।

प्रहरीको विवरणअनुसार कोशी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३९ जना, मधेश प्रदेशमा ३६ जना, बागमतीमा १६, गण्डकीमा १०, काठमाडौं उपत्यकामा १२, सुदूरपश्चिममा ६ र कर्णालीमा ७ जना घाइते भएका छन्। मृत्यु भएका दुर्घटनामध्ये भक्तपुर, कास्की, मोरङ, कपिलवस्तु, बाँके, सप्तरी तथा सिरहा लगायतका जिल्लामा मोटरसाइकल, टिपर, स्कुटी तथा अन्य सवारी साधन दुर्घटनामा परेका छन्। भक्तपुरमा मोटरसाइकल दुर्घटनामा २३ वर्षीय प्रवीण दाहालको उपचारका क्रममा मृत्यु भएको छ। कास्कीमा मोटरसाइकलको ठक्करबाट ५९ वर्षीय इन्द्रकला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोरङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३६ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। बाँकेमा स्कुटी दुर्घटनामा ४६ वर्षीय रञ्जन घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।
सप्तरीमा मोटरसाइकलको ठक्करबाट ५० वर्षीया शिराली चौधरीको मृत्यु भएको छ भने सिरहामा टिपर र ईभी गाडी ठोक्किँदा घाइते भएकी ४५ वर्षीया शोभा कुमारी यादवको उपचारका क्रममा मृत्यु भएको विवरणमा उल्लेख छ।
प्रहरीले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको गति नियन्त्रण, ट्राफिक नियमको पालना तथा चालक र यात्रुको सुरक्षा सावधानीमा जोड दिँदै आएको छ।
