• २०८३ भाद्र १८ गते बिहिवार

भोटेकोशी बाढीबारे परराष्ट्रमन्त्री खनालले कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई ब्रिफिङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भदौ १८, काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको उद्धार तथा राहत प्रयास र विदेशी नागरिकको अवस्थाबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई ब्रिफिङ गरेका छन् ।

बिहीबार आयोजित ब्रिफिङमा मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित नेपाल–चीन सीमामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पछिल्लो समयको स्मृतिमा नभएको ठूलो विपत्तिका रूपमा चित्रण गरे । उनले बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, लेदो र ढुंगामाटो बगाएर रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको बताए ।

मन्त्री खनालका अनुसार हालसम्म १२०४ जनाको शव फेला परेको छ भने करिब ४२०० जना अझै बेपत्ता छन् । बाढीबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन् । ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए । उद्धार तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक प्रमाणीकरण भइरहेको उनले बताए ।

सरकारले विपत्तिको पहिलो दिनदेखि नै उद्धार, खोजी, उपचार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको मन्त्री खनालले बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

विपत्तिको जटिलता र आवश्यक विशेषज्ञताका आधारमा भारत, चीन र दक्षिण कोरियाबाट विशेष सुरुङ उद्धार टोली ल्याइएको पनि उनले बताए। भारतको टोली लाङटाङ र चिलिमे, चीनको टोली माथिल्लो त्रिशूली–३ ए तथा दक्षिण कोरियाको टोली माथिल्लो त्रिशूली–१ मा उद्धार कार्यमा खटिएको उनले जानकारी दिए । इजरायलको टोलीले नदीको तल्लो क्षेत्रमा शव खोजी कार्यमा सहयोग गरिरहेको उनले बताए ।

मन्त्री खनालले विदेशी नागरिकको खोजी, पहिचान र परिवारसँग समन्वयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आकस्मिक नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगमार्फत बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने र आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था मिलाउने काम भइरहेको उनले जानकारी दिए ।

बाढीबाट घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको भन्दै मन्त्री खनालले विस्तृत क्षति मूल्यांकन भइरहेको बताए । पुनर्निर्माणका लागि आवश्यक स्रोत ठूलो हुने र त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिने उनले बताए ।

नेपालले विपत्तिपछि भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका लगायत विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकसहितका संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ । मन्त्री खनालले उद्धार विशेषज्ञता, उपकरण, स्वास्थ्य तथा न्यायिक पहिचान सहयोग र आर्थिक सहायताले प्रभावित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले भोटेकोशी बाढीलाई जलवायु परिवर्तन र हिमाली क्षेत्रको बढ्दो जोखिमसँग जोड्दै जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् तयारी र जोखिमयुक्त संरचनाको पुनर्निर्माणलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

साथै मन्त्री खनालले भोटेकोशी बाढीको क्षति निश्चित क्षेत्रमै सीमित रहेको भन्दै नेपालका अन्य क्षेत्र सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश सम्बन्धित देशका नागरिक तथा सरकारसम्म पुर्‍याउन कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस