• २०८३ भाद्र १८ गते बिहिवार

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १८, काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्सी ‘नेपाल न्यूज बैंक’ मा आबद्ध भएका छन् । उनी प्रमुख सम्पादन सल्लाहकारका रूपमा एजेन्सीमा आबद्ध भएका हुन् । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष झा करिब ४ दशकदेखि साहित्य, पत्रकारिता, सम्पादन र सामाजिक–सांस्कृतिक चेतना निर्माणमा निरन्तर योगदान दिँदै आइरहेका छन् ।

 

अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार सञ्चालित नेपाल न्यूज बैंकमा हाल २०० भन्द बढी मिडिया आबद्ध छन् । न्यूज बैंकले हाल समाचार, भिडियो, अडियो, फोटोफिचर, समसामयिक लेख एवम खोजमूलक समाचारहरुको सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले एएनआइ, सीसीटीभीप्लसजस्ता अन्तर्राष्ट्रिय न्यूज एजेन्सीमार्फत अन्तर्राष्ट्रिय समाचार सामग्रीको पनि सेवा दिइरहेको छ ।

नेपाल सरकारको एक मात्र समाचार एजेन्सी राससलाई आफ्नो कार्यकालमा नयाँ उचाइ दिन सफल झाले नेपाल न्यूज बैंकलाई अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार अझ प्रभावारी रुपमा सञ्चालन गर्न मार्गनिर्देश गर्ने नेपाल न्यूज बैंक प्रालिले अपेक्षा गरेको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)का लागि नेपालबाट पहिलो सल्लाहकारसमेत भइसकेका झाले सञ्चार क्षेत्रलाई लोकतन्त्र र समावेशिताको आधारस्तम्भ बनाउन अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।

मैथिली भाषा साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्याएका झा आमसञ्चार एवम् पत्रकारिताका कुशल प्रशिक्षक र संवाद सहजकर्तासमेत हुन् ।

सूचनाको हकका अभियन्ताका रूपमा विशिष्ट परिचय बनाएका झाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र मधेस तथा समावेशी मुद्दा जोडदार रूपमा उठाउँदै आएका छन् । झाले काठमाडौँको मूलधारको पत्रकारिता र मधेसको वास्तविकताबीचको दुरी घटाउन सञ्चारमाध्यममार्फत ठूलो योगदान पुर्याउँदै आएका छन् ।

मिडिया प्रविधि, राजनीतिशास्त्र र मैथिलीमा स्नातकोत्तर गरेका झाका मैथिली र नेपाली साहित्य, पत्रकारिता तथा अन्य विषयका गरी २ दर्जनभन्द बढी पुस्तक प्रकाशित छन् ।

जनकपुरबाट २०४३ सालमा पत्रकारिता प्रारम्भ गरेका झाले यसअघि हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन, कोसी अनलाइन, नयाँ पाइला अनलाइन, विकास टाइम्सजस्ता सञ्चार संस्थाको सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस