भदौ १८, काठमाडौं । भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । मुख्य सडक बन्द भएपछि रसुवा जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको वैकल्पिक रुट प्रयोग गरिरहेका छन्। तर सडक बिग्रिएको, ठाउँ–ठाउँमा जाम भएको तथा बाटो कठिन भएकाले राहत सामग्री बोकेर जानेहरूलाई समेत समस्या भएको छ ।

स्वयंसेवक शैलेन्द्र पन्थीका अनुसार उनीहरू सातवटा गाडीमा राहत सामग्री लिएर रसुवा जाँदै थिए । तर बाटोको कठिन अवस्थाका कारण एउटा गाडी अघि बढ्न नसकेपछि फिर्ता गर्नुपरेको र उक्त सामग्री तलैको होल्डिङ सेन्टरमा वितरण गरिएको उनले बताए ।
‘हामी अहिले राहत सामग्री लिएर रसुवा जाँदैछौँ । सातवटा गाडी छन् । एउटा गाडी आउन नसकेर फिर्ता ग¥यौँ। अर्को होल्डिङ सेन्टरमा डिस्ट्रिब्युट ग¥यौँ,’ पन्थीले भने। उनका अनुसार उनीहरू कुनै संस्था वा औपचारिक निकायमार्फत नभई स्वयंसेवकका रूपमा राहत सामग्री संकलन गरेर प्रभावित क्षेत्रमा पु¥याइरहेका छन्।
‘निकै गाह्रो छ । हामी कुनै संस्थाबाट होइनौँ, नितान्त स्वयंसेवक तरिकाले राहत सामग्री सङ्कलन गरेर वितरण गरिरहेका छौँ,’ उनले भने। मुख्य राजमार्ग बन्द भएपछि प्रयोगमा आएको वैकल्पिक रुटमा अहिले ठूलो जामसमेत रहेको पन्थीले बताए । विशेषगरी घिचेत क्षेत्रमा सडक बिग्रिएकाले सवारी आवागमन प्रभावित भएको हो ।
राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा पुग्न खोजिरहेका स्वयंसेवक तथा अन्य व्यक्तिहरूले बाटोको कठिन अवस्थाका कारण बीचबाटै फर्किनुपरेका ेसमेत बताइएको छ।
भोटेकोशी बाढीपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा रसुवा जाने वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ । सडकको अवस्था कमजोर र साँघुरो भएकाले राहत सामग्री बोकेका सवारीसाधनलाई समेत गन्तव्यसम्म पुग्न कठिनाइ भइरहेको छ।