असार १९, काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी दुई शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि पुरिएका एक पुरुषको जीवितै उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई ‘चमत्कारपूर्ण उद्धार’ को संज्ञा दिएका छन् । करिब ४० वर्षका हेर्नान अल्बेर्तो गिल फ्लोरेसलाई ला गुआइरास्थित एक सपिङ मलको पार्किङ भवन भत्किँदा करिब २९ फिट गहिरो भग्नावशेषमुनि पुरिएको अवस्थामा फेला पारिएको थियो । उनी सो सपिङ मलमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

स्थानीय तथा विभिन्न देशबाट पुगेका उद्धार टोलीले करिब ७० घण्टासम्म अत्यन्त सावधानीपूर्वक सञ्चालन गरेको उद्धार अभियानपछि उनलाई सकुशल बाहिर निकाल्न सफल भएका हुन् । चिलीको अग्निनियन्त्रण विभागका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
उद्धारमा संलग्न भेनेजुएलाको रेडक्रसका आपत्कालीन स्वास्थ्यकर्मी लुइस रोड्रिगेजले एम्बुलेन्समा राख्दा गिलको अवस्था स्थिर रहेको बताए । उनका अनुसार अस्पताल लैजाँदै गर्दा उनी पूर्ण होसमा थिए, उद्धार टोलीसँग संवाद गरिरहेका थिए र उनका सबै जीवनरक्षक संकेत सामान्य अवस्थामा थिए ।
गिलकी पत्नी गुस्भिमार गोन्जालेसले आठ दिनसम्म श्रीमान्को अवस्था थाहा नपाउँदा आफू अत्यन्त पीडामा रहेको बताइन् । उनी जीवित रहेको खबर पाएपछि भने आशाको किरण देखिएको भन्दै उनले श्रीमान्ले वीरतापूर्वक संघर्ष गरेको प्रतिक्रिया दिइन् । उनका सन्तान पनि घरमा उनको प्रतीक्षामा रहेका छन् ।
उद्धार टोलीले बुधबार खोजी क्यामेरामार्फत पहिलो पटक गिललाई देखेको थियो । सार्वजनिक गरिएको दृश्यमा बाक्लो कङ्क्रिट र भग्नावशेषको सानो खाली स्थानबाट उनले औंला हल्लाएर आफू जीवित रहेको संकेत दिएका थिए । उद्धार अभियानका क्रममा टोलीले पाइप र सिरिन्जमार्फत उनलाई पानी, खाना, औषधि तथा शरीरलाई आवश्यक तरल पदार्थ उपलब्ध गराएको थियो । बिहीबार सार्वजनिक गरिएको अर्को दृश्यमा उनको टाउको र काँध भग्नावशेषबाट बाहिर निस्किएको तथा अनुहारमा मास्क लगाएको देखिएको थियो ।
चिलीको अग्निनियन्त्रण विभागले भवन थप भत्किने जोखिमका कारण उद्धार अभियान अत्यन्त जटिल रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको विपद् मूल्याङ्कन तथा समन्वय टोलीका सदस्य सेबास्टियन मोकोर्केरले भूकम्पपछि सात दिनभन्दा बढी समयपछि हुने जीवित उद्धारलाई सामान्यतया चमत्कार मानिने बताए । उनका अनुसार भूकम्पपछि पहिलो ७२ घण्टालाई जीवित उद्धारका लागि सबैभन्दा महत्वपूर्ण समय मानिन्छ ।
उद्धारकर्ताले आइतबारदेखि भग्नावशेषमुनि कुनै व्यक्ति जीवित हुन सक्ने सूचना पाएका थिए । त्यसपछि रडार, ध्वनि पहिचान उपकरण तथा अन्य प्रविधिको प्रयोग गरी गिल जीवित रहेको पुष्टि गरिएको थियो । त्यसयता करिब आधा दर्जन देशका उद्धार विशेषज्ञहरूले सुरक्षित बाटो बनाएर उनलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।
एक उद्धारकर्तासँगको संवादमा गिलले आफू गम्भीर रूपमा घाइते नभएको तर ढुंगामुनि च्यापिएकाले निकै असहज भएको बताएका थिए । उद्धार सुरुङ पटक-पटक भत्किँदा अभियान थप कठिन बनेको थियो ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले गिलको सफल उद्धारलाई जीवनको विजय भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धारकर्मीहरूको समर्पणको प्रशंसा गरेकी छन् ।
गिलको उद्धार भएको ला गुआइरा सहर भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । त्यहाँ अझै पनि उद्धार कार्य जारी छ । स्थानीय बासिन्दा र उद्धारकर्मीहरू कुदाल, बेल्चा र खाली हातको सहायताले भग्नावशेष हटाइरहेका छन् भने इन्धन र अन्य आवश्यक स्रोतको अभाव रहेको बताइएको छ ।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा कम्तीमा दुई हजार २९५ जनाको मृत्यु पुष्टि भएको छ। यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।