वैशाख २०, मुगु। हिमाली जिल्ला मुगुमा पहिलो पटक इतिहासमै शाहसिक छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ प्रतियोगिता हुने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना अल नेपाल स्पोर्ट्स फाउण्डेसन (एसएन) को सहकार्य नेपाल, एड्भेन्चर नार्फको प्राविधिक सहयोग र नेपाल पर्यटन बोर्डको मुख्य प्रवर्धन साझेदारीमा आगामी जेठ ३ गते कार्मारोङ्ग मा छायानाथ अल्ट्रा रेस आयोजना गर्न लागिएको हो ।

आइतवार जिल्ला प्रशासन कार्यालय गमगढी मुगुमा बसेको सरोकारवालाहरु सँगको समन्वयात्मक बैठकमा प्रतियोगिता बारे जानकारी गराइएको हो । बैठकमा आयोजनाको तयारी, रेस रुट, आवश्यक आर्थिक, भौतिक अवस्था बारे जानकारी तथा आयोजनामा आवश्यक हुने स्वास्थ्य उपचार, सुरक्षा लगायत अन्य विषयवस्तुमा केन्द्रित रहेर छलफल गरिएको मुगुम कार्मारोङ्ग गाउँपालिकाले जनाएको छ ।
पालिकाका अनुसार आयोजना गर्न करिब ९८ लाख रुपैयाँको अनुमानित बजेटमा सम्पन्न हुन लागेको यस ऐतिहासिक प्रतियोगिताले मुगुम कार्मारोङ लाई हाइक–वाटर र्याफ्टिङ, प्याराग्लाइडिङ र रकिङ क्लाइम्बिङ जस्ता साहसिक खेलको केन्द्र बनाउन सहयोग पुग्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवाष रावलले विश्वास गर्नु भएको छ । आज भएको बैठकमा स्वास्थ्य सेवा कार्यालयले उपलब्ध औषधि, डाक्टर सहयोग गर्ने र अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले आर्थिक क्षेत्र नभएर आवश्यक कुराहरुमा सहयोग गर्ने तथा मिडियाहरुले बढि मात्रामा प्रचारप्रसारमा जोड दिने जस्ता निर्णय भएको उहाँको भनाई छ ।
सिम्रिकबाट सुरु हुने अल्ट्रा रेस छायानाथ धाम, चिताइ कुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । प्रतियोगिता ३३ किलोमिटर अल्ट्रासाउन्डमा महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । यस्तै स्थानीयका लागि पाँच किलोमिटरको छुट्टै फन रन विधा छुट्याइएको छ । प्रतियोगितामा सहभागी हुन अनलाइन तथा अफलाइन दुवै माध्यमबाट गर्न सकिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइन माध्यमबाट www.chhayanathultra.com मा गई वा भौतिक रूपमा काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको दर्ता केन्द्रमा पुगी स–शुल्क नाम दर्ता गराउन सक्नेछन् । खेलाडीले निर्धारित रेशमा १२ घण्टामा पार गरिसक्नु पर्ने छ ।
छायानाथ धाम जस्तो पवित्र धार्मिक स्थल र हिमाली जीवनशैलीको प्रचारले यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने आयोजकको अपेक्षा छ । प्रतियोगिताको महिला तथा पुरुष तर्फका उपाधि विजेता खेलाडीले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। यस्तै दोस्रोले एक लाख ५० हजार, तेस्रो हुने खेलाडीले एक लाख, चौथाले ७५ हजार र पाँचौं स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी स्थानीय तर्फका विजेता खेलाडीलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
