वैशाख २०, काठमाडौं । इरानमा जेलमा बन्द मानवअधिकार अभियन्ता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि उनलाई राम्रो उपचार सुविधा भएको स्थानमा सार्न माग गरिएको छ । उनका परिवारजन तथा नोबेल शान्ति पुरस्कार समिति दुवैले यस्तो माग गरेका हुन् ।

शुक्रबार उनका परिवारले ५४ वर्षीया मोहम्मदीलाई उत्तर–पश्चिमी इरानको जेलबाट स्थानीय अस्पतालमा लगिएको जानकारी दिएका छन्। परिवारले यो कदम ढिलो गरी अन्तिम समयमा चालिएको प्रयास भएको टिप्पणी गरेको छ । नर्वेमा रहेका उनका दाजुले बीबीसीसँग कुरा गर्दै मोहम्मदीको रक्तचाप निकै तीव्र रूपमा घटेको र स्थिर बनाउन कठिन भइरहेको बताएका छन् ।
मोहम्मदी सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता हुन् । उनलाई गत डिसेम्बरमा सरकारी अधिकारीहरूको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो । गत महिना उनका दाजु हामिदरेजा मोहम्मदीले उत्तर-पश्चिमी इरानको जञ्जान जेलमा उनी अचेत अवस्थामा भेटिएको र सम्भवतः हृदयघात भएको बताएका थिए । उनले पुरानो मुटु, फोक्सो र रक्तचापसम्बन्धी समस्या हुँदाहुँदै पनि जेल प्रशासनले अस्पताल लैजान अस्वीकार गरेको आरोप लगाएका छन् ।
नरगिस मोहम्मदी फाउन्डेसनले उनको स्वास्थ्य अत्यन्त गम्भीर बनेपछि जञ्जान प्रान्तको अस्पतालमा सारिएको जनाएको छ । उक्त संस्थाका अनुसार उनलाई १४० दिनसम्म मनपरी हिरासतमा राख्दै विशेष स्वास्थ्य सेवा नदिइएको थियो । फाउन्डेसनका अनुसार मोहम्मदीलाई अहिलेसम्म विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ भने उनलाई कुल ३१ वर्षको जेल सजाय र १५४ कोडाको सजाय सुनाइएको छ ।