• २०८३ बैशाख ६ गते आइतवार

प्रादेशिक कला प्रदर्शनीः पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
पौष १९, काठमाडौं ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक कला प्रदर्शनीका लागि यही पुस मसान्तसम्म कलाकृति बुझाउन अनुरोध गरेको छ ।  प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रदर्शनी आयोजनाको मिति घोषणा गरिसकेको जानकारी दिँदै पुस मसान्तसम्मका कलाकृतिमात्रै समावेश हुने बताउनुभयो । नेपाली ललितकलाको महाउत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी भएको उल्लेख गर्दै उहाँले अहिलो कलाकृति सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।
थुम्केलीका अनुसार  आगामी माघ १५ गते गण्डकी प्रदेशबाट प्रदर्शनीको थालनी हुनेछ । कलाकै महोत्सव मानिने उक्त प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।
प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी भनेको छ, “प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (ट) र राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० बमोजिम प्रतिष्ठानले प्रदर्शनीका लागि पुस ३० गतेभित्र कलाकृति बुझाउन आम कलाकारहरूमा अनुरोध छ ।”
प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति र विसं २०८३ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा अप्रतियोगी र आमन्त्रित कलाकृति बुझाउन भनेको छ ।
प्रादेशिक प्रदर्शनी
प्रतिष्ठानका अनुसार गण्डकी प्रदेशको गैँडाकोटमा आगामी माघ १५ देखि १९ गतेसम्म प्रदर्शनी आयोजना हुनेछ । मधेस प्रदेशको धनुषामा माघ १६ देखि २० गतेसम्म मैथली विकास कोषसँगको सहकार्यमा प्रदर्शनी आयोजना हुँदैछ भने लुम्बिनी प्रदेशको कालिका मानव ज्ञान मावि रुपन्देहीमा माघ १७ देखि २१ गतेसम्म आयोजना हुनेछ ।
त्यस्तै कणाली प्रदेशको कमर्सियल आर्टिष्ट सङ्घसँगको सहकार्यमा माघ १९ देखि २३ गतेसम्म प्रदर्शनी आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा माघ २१ देखि २५ सम्म, कोशी प्रदेशमा माघ २९ देखि फागुन ४ गतेसम्म आयोजना हुँदैछ ।
यस्तै बागमती प्रदेशमा भने फागुन ८ देखि १२ गतेसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्यसचिव थुम्केलीले जानकारी दिनुभयो । सबै प्रादेशिक प्रदर्शनी सकिएपछि त्यहाँबाट छानिएका कलाकृति समेटेर आगामी जेठ १५ देखि ३० गतेसम्म काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरिनेछ । सोही क्रममा कलाकारलाई पुरस्कार तथा सम्मानसमेत प्रदर्शन गरिने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस