कात्तिक १६, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन् । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्ने छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित काठमान्डु एनपीएलमा पहिलो जित निकाल्न चाहन्छ । यता कर्णाली याक्स काठमान्डुलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रन र दोस्रो खेलमा विराटनगर किंग्समाथि चार विकेटको जित निकालेको थियो । आज काठमाण्डू गोर्खाजमा अस्ट्रेलियन पूर्वखेलाडी डेभिड वार्नर मैदानमा उत्रिँदैछन् ।